२५ लाख डोज खोप लगाइयो : स्वास्थ्य मन्त्रालय (भिडियो)

२५ लाख डोज खोप लगाइयो : स्वास्थ्य मन्त्रालय (भिडियो)

नेपालमा हालसम्म कोरोना विरुद्धको खोप २५ लाख डोज लगाइ सकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार करिब २५ लाख डोज खोप लगाइसकिएको र सो क्रम जारी रहेको बताउनुभएको छ । उहाँले नेपालमा हालसम्म ३२ लाख ४८ हजार डोज खोप आइसकेको पनि जानकारी गराउनुभएको छ ।

जसअनुसार भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधाअन्र्तगत ३ लाख ४८ हजार डोज सोही खोप प्राप्त भएको थियो । त्यसैगरी नेपाली सेनालाई १ लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको छ ।

त्यसैगरी चीनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ हजार डोज खोप प्राप्त भएको छ । तीमध्ये २५ लाख डोज खोप लगाइसकिएको छ भने बाँकी खोप लगाउने क्रम पनि भोलिदेखि पुनः शुरु हुने डा. अधिकारीले बताउनुभयो ।

७ लाखको हाराहारीमा खोप मौज्दात रहे तपनि कोभिशिल्ड खोप लगाउन शुरु गरिएको उहाँको भनाई छ । भारतसँग २० लाख डोज खोप खरिदको प्रक्रियामा रहेको तर १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

रुसी स्पुतनिक भी खोपलगायतका अन्य खोपहरू समेत ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानीहरू भइरहेको अधिकारीले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमण बढिरहेको सम्बन्धमा मुलुकभर रहेका ९० वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको उहाँले बताउनुभयो । अहिले एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएको र कन्टयाक्ट ट्रेसिंगमा परेकाहरूको पीसीआर परीक्षण भइरहेको छ । परीक्षणको दायरा बढाउन सरकारले आवश्यक तयारी गरेको अधिकारीले बताउनुभयो ।

उहाँलदे अस्पताल तथा प्रयोगशालाहरूलाई आवश्यक स्वास्थ्य सामाग्रीहरू तीन महिनालाई पुग्ने मौज्दात रहेको जानकारी दिनुभएको छ ।

टिप्पणीहरू