चपली हाइटले यसरी तोक्यो कार्यदल

चपली हाइटले यसरी तोक्यो कार्यदल

निकै अप्रत्यासित हिसाबले अस्ति बिहिबार चपली हाइटमा भएको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ताले एमालेभित्र एक किसिमको उत्साह ल्याएको छ ।

त्यसलाई लामो समयपछि एमालेको जटिल गतिरोधमा आइसब्रेक भनेरसमेत बुझ्न सकिन्छ । फलस्वरुप हिजो साँझ सिंहदरबारमा दुई पक्षबीच औपचारिक वार्ता भएको हो ।

हिजोको सहमति पनि एकदम लचिलो रहेको बताइएको छ । स्रोतका अनुसार चपलीमा नेता नेपालले एउटा प्रसंग उठाउनुभएको थियो । प्रधानमन्त्रीले सँधै भन्दै आउनुभएको ‘ब्यक्ति ब्यक्तिका कुरा हुन्छन् । समूहगत रुपमा गरिने वार्तालाई मान्यता दिन्न र त्यसरी कुरा पनि गर्दिंन’ भन्ने अडानलाई अस्ति पनि दोहोर्याउनुभएको थियो ।

प्रधानमन्त्रीको उक्त अडान सुनेपछि नेपालले भन्नुभयो ‘म समूहको तर्फबाट आएको हुँ । बेग्लै आएको होइन । तपाईंले व्यक्तिवादी डिल गर्छु भनेर जुन भन्दै हिँड्नुभएको छ, र अहिले पनि त्यहि कुरो हो भने कुरा नगरौँ, भैगो ।’

त्यसपछि किन हो एक्कासी प्रधानमन्त्रीले यु टर्न भएर भन्नुभयो ‘तपाईं पनि शक्ति हो, आफ्नो पोजिशन छ । पार्टी १५ वर्ष चलाउनुभयो । पार्टीलाई यो ठाउँसम्म ल्याइपुर्याउने कार्यमा तपाईंको पनि ठूलो योगदान रहेको मान्दछु । मिलेर जानुपर्छ भन्नेमा क्लियर छु ।’

त्यसपछि दुई पक्षबीच राम्रैसँग कुरा अघि बढ्यो र कार्यदल बनाउने त्यो पाँच सदस्यीय हुने कुरा प्रधानमन्त्रीले राख्नुभयो । प्रधानमन्त्रीले कार्यदल पाँच सदस्यीय हुने,त्यसमा आफ्नो तर्फबाट तीन जना र नेपालको तर्फबाट दुईजना राख्ने कुरा गर्नुभएको थियो ।

त्यहिबेला नेपालले आफ्नो अडान राख्दै भन्नुभयो ‘अहिले पनि तपाईं यो अल्पमत र बहुमतको अनुपात राखेर काम र कुरो गर्दै हुनुहुन्छ । यो ३ र २ भनेको के हो ? कुरा मिलाउने त्यसरी मिल्छ ?’

नेपालले त्यसो भनेपछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले ‘ल त्यसोभए तपाईंको तर्फबाट तीन जना राख्नुहोस्,मेरो तर्फबाट दुई जना भयो ।’भन्नुभयो ।

नेपालले त्यसपछि दुवैतर्फबाट पाँच पाँच जना राखेर कुरा गरौँ भन्नुभएको थियो । उहाँले तपाईं हामी पनि बसौँ भनेपछि त्यसैमा सहमति भयो । अनि कार्यदल पनि त्यसरी बनेको स्रोतको दाबी छ ।

टिप्पणीहरू