दोस्रो पुस्ता जोगियो,बङ्गालको कथा बेग्लै हो

दोस्रो पुस्ता जोगियो,बङ्गालको कथा बेग्लै हो

बिहीबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिले एमाले कम्तिमा दोस्रो पुस्तासम्मको लागि विभाजनबाट जोगिएको भन्नेहरू पनि देखिएका छन् ।

उनीहरूका अनुसार अब एमाले ओली,नेपाल र झलनाथ खनालले केही बर्षमा स्वेच्छिक अवकाश लिए पनि अर्को पुस्तासम्मको लागि जोगिएको छ ।

फुटको डिलमा पुगेर फर्किएको पार्टी राजनीतिले युवा पुस्ताका केही होनहार नेताहरूको राजनीतिक करियर जोगिएको बताइन्छ । त्यसैगरी अहिलेको घटनाक्रमले माओवादी केन्द्रका वर्षमान पुन,हरिबोल गजुरेल,जनार्दन शर्माहरूजस्ता नेतालाई कालान्तरमा समेट्न र जोडिनको लागि समेत मार्गप्रशस्त गरेको उनीहरूको निचोड छ ।

नाम बताउन नचाहने एमाले निकट राजनीतिक विश्लेषक भन्छन् ‘वामपन्थीहरू नेपालमा अझै केही दशकसम्म यो वा त्यो नाममा पावरमा रहने देखिन्छ ।

यसअघि एमालेको सूर्य चिन्हमा दुईदेखि तीन पटक भोट हालेका र ४० वर्ष उमेर नकटाएकाले अझै तीनदेखि चार पटक सक्रियतापूर्वक भोट हाल्ने भएकाले नेपालमा भारतको पश्चिम बंगालमा जस्तो हुँदैन ।’

उनका अनुसार यहाँ नेपाली काँग्रेस पनि ‘पपुलर’ छैन । भारतमा पहिले र यसपटक पश्चिम बंगालमा भाजपा अर्थात् प्रधानमन्त्री मोदी हुरी बतासझैँ देखापरेका थिए ।

पश्चिम बंगालमा भाकपा र माकपालाई काँग्रेस आईले हराएको नभई भाजपाले हराएको बताउँदै उनी थप्छन् ‘केही समयपछि पुनः दोस्रो पुस्ताका कम्युनिष्ट नेताहरूबीच एकता वा कार्यगत एकता हुनसक्छ ।’

टिप्पणीहरू