नेपाल सुपर लिगमा उपाधि उचाल्ने दुबै टोलीको दाबी

नेपाल सुपर लिगमा उपाधि उचाल्ने दुबै टोलीको दाबी

नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) को भोलि शनिबार हुने फाइनलमा धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । ट्रफी सार्वजनिक तथा प्रि–म्याच कन्फरेन्समा बोल्दै दुबै टोलीका कप्तानले उपाधि उचाल्ने दाबी गरेका छन् ।

लिग चरणका खेलबाट शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको काठमाडांै रेजर्सले इलिमिनेटर खेलमा भाग्यले साथ दिएपछि अन्तिम दुईमा स्थान बनाउन सफल भएको थियो । सोही टोली शनिबार पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको धनगढीविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

काठमाडौं रेजर्सललाई काठमाडौंको मैदान उत्रिँदा लिग चरण र पहिलो क्वालिफायरमा हारेको बदला लिने अवसर पनि मिलेको छ । टोलीका प्रशिक्षक बालगोपाल महर्जनले यसअघिका दुई खेलमा भोगेको पराजयमा भएका कमी कमजोरीलाई सुधार्दै आफ्नो टोली उपाधिलाई मैदान उत्रिने र उपाधि काठमाडौंमा नै राख्ने बताएका छन् ।

प्रशिक्षक महर्जनले केही खेलाडीमा चोट लागे पनि प्रतिस्पर्धाका लागि टोली सक्षम रहेको उल्लेख गर्दै फाइनल खेलमा सुखद् नतिजा निकाल्न आफ्नो टोली तयार रहेको बताए । कप्तान विकेश कुथुले प्रशिक्षकको भनाईलाई समर्थन गर्दै पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ आफ्नो टोली मैदान उत्रिने बताएका छन् ।

उता पहिलो क्वालिफायरमा काठमाडौंमाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै फाइनलको ढोका खोलेको धनगढी पनि सहजै उपाधि उचाल्नेमा आत्मविश्वास देखाएको छ । प्रशिक्षक तोपे फुजाले लिग चरण र क्वालिफयारमा निकालेको जितले खेलाडीमा आत्मविश्वास बढेको र फाइनल खेल पनि आफ्नै पोल्टामा पर्ने दावी गरेका छन् ।

यस्तै धनगढीका कप्तान किरण चेम्जोङले सुरुआती खेलमा आफ्नो टोलीले सोचेजस्तो प्रदर्शन गर्न नसके पनि पछिल्ला खेलमा लय समात्न सफल भएको भन्दै फाइनलमा समेत राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा विजयी टोलीलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो । फाइनलमा पुगेको धनगढीले लिग चरणमा काठमाडौंलाई २–१ ले पराजित गरेको थियो भने काठमाडौंले इलिमेनेटरको विजयी टोली ललितपुर सिटीमाथि दोस्रो क्वालिफायर खेलमा ३–० को जित निकाल्दै धनढीसँगको भिडन्त पक्का गरेको हो ।

पहिलो पटक आयोजना भएको फ्रेन्चाई फुटबल प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ र व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउने छन् ।

टिप्पणीहरू