सैद्धान्तिक कुरा मिल्यो, बाँकी छलफल गर्दैछौँ : माधव नेपाल

सैद्धान्तिक कुरा मिल्यो, बाँकी छलफल गर्दैछौँ : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि पुरानै अडानमा यथावत रहेको बताउनुभएको छ ।

पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीसंग सघन छलफलमा रहनुभएका नेता नेपालले आफ्ना अडानमा ओली सहमत भएपनि पार्टीको मोडालिटीबारे भने टुंगो लागिनसकेको बताउनुभयो । उहाँले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुराउने र गत फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफ्नो मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुराउने हाम्रो बटमलाईन थियो । त्यसमा हाम्रो पार्टी अध्यक्ष एवं केपी शर्मा ओली सहमत हुनुभएको छ । पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ । त्यसमा पनि केही स्पष्टताहरुको आवश्यकता पर्ला । छलफल गरेर टुंग्याउने छौ ।’

अध्यक्ष ओलीले मनोमानी ढंगले पार्टी चलाएको, संविधानविपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै खरो विरोधमा उत्रिएको नेपाल समूहले ओली सरकारकोविरुद्ध बन्न लागेको संयुक्त सरकार गठन प्रक्रियालाई सघाईरहेको थियो ।

नेपाल समूहका सांसदहरु प्रधानमन्त्रीले विश्वासको मत लिने बैशाख २७ गतेको दिन प्रतिनिधिसभाको बैठकमा पनि अनुपस्थित भएको थियो । तर संयुक्त सरकार गठनका लागि दिईएको समय सकिनै लाग्दा अध्यक्ष ओली र नेता नेपालबीच नाटकिय ढंगमा सहमति भएको थियो ।

सोही सहमतिअनुसार नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने निर्णय गरेपछि संसदमा ठूलो दलको हैसियतले शुक्रबार प्रधानमन्त्रीमा पुन: ओली नै नियुक्त हुनुभएको हो ।

टिप्पणीहरू