सिलिण्डरबारेको अफवाह गलत : नेपाल प्रहरी

सिलिण्डरबारेको अफवाह गलत : नेपाल प्रहरी

नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिण्डरहरू लैजाने गरेको भनेर लगाइएका कपोलकल्पित आरोपमा कुनै सत्यता नभएको प्रहरीले बताएको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यलयले पीडाको घडीमा एक जनाको ज्यान बचाउन सकिएमा पनि पुण्य हुने ठान्दै खटिएका प्रहरीका तमाम कर्मचारीले निर्वाह गरेको कर्तव्यपालनको विरुद्ध हुनेगरी सर्वसाधारणसमक्ष पुर्याइएका सबै आरोप गलत भएको बताएको छ ।

यस्तै आमनागरिकको सुरक्षा नै प्रहरीको पहिलो प्राथमिकता भएकाले प्रहरी कर्मचारीका लागि भनी निर्माण गरेको प्रहरी अस्पतालमा कोभिड संक्रमितहरूको उपचारको लागि स्थान दिइएको र हाल २ सय ८ जनाको निःशुल्क उपचार भइरहेको समेत बताइएको छ ।

प्रहरीले कोभिड महामारीपूर्व नै प्रहरी अस्पताललाई शंकर अक्सिजन प्लाण्ट, बालाजुले अक्सिजन उपलब्ध गराउँदै आएको उल्लेख गर्दै महामारीमा समेत कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले प्रहरी अस्पतालको लागि निर्धारण गरिदिएको प्लाण्ट र तोकिएको कोटा (२ सय सिलिण्डर प्रतिदिन) भन्दा न्यून अक्सिजनबाट अस्पताल सञ्चालन गर्दै आएको जनाएको छ ।

यस्तो अवस्थामा फैलाइएका भ्रामक सूचनाप्रति विश्वास नगर्न सबैलाई आग्रह गर्दै प्रहरीले कोभिड महामारीको अहिलेको विषम परिस्थितिमा चिकित्साकर्मी तथा स्वास्थकर्मीहरूबाट निर्वाह भएको अतुलनीय भूमिकाको सम्मानसहित प्रशंसा समेत गरेको छ ।

टिप्पणीहरू