एमालेमा जसपा प्रवेश कि महेश बस्नेत जसपामा प्रवेश ?

एमालेमा जसपा प्रवेश कि महेश बस्नेत जसपामा प्रवेश ?

हिजो जसपाको महन्थ खेमाका १४ सांसदलाई होटलमा बन्धक बनाएर राख्ने कामको तारतम्य सांसद अपहरणको आरोप लागेका एमाले नेता महेश बस्नेतले नै मिलाएको खुलासा भएको छ ।

जसपाका सबै सांसद एकै ठाउँमा उभिंदा ओलीको सत्ता ढल्ने आंकलन गरेर महन्थ ठाकुर, राजेन्द्र महतो र बालुवाटारबाट खटाइएका बस्नेतको सल्लाहमा ती सांसदहरुलाई भक्तपुरस्थित डोलेश्वर भिलेज रिसोर्टमा दिनभर ‘थुनेर’ राखिएको थियो ।

भक्तपुरको सांसदसमेत रहेका बस्नेतले उताबाट ठाउँको चाँजोपाँजो मिलाएपछि पार्टीको बैठकका लागि भनी बबरमहल बोलाइएका सांसदहरुलाई ठाकुर र महतोले गाडीमा राखेर डोलेश्वर पुर्याएका थिए ।

ओलीलाई समर्थन गर्ने ठाकुर र महतोको निर्णयउपर तलमाथि हुनसक्ने छनक पाएपछि बस्नेतको अगुवाइमा सांसदहरुलाई होटेलमा पुर्याइएको हो । मधेश पुत्र-पुत्रीहरुको भेलामा पहाडे क्षेत्री बस्नेत वीचमा ट्याक्क बसेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बस्नेतमाथि यसअघि पोहोर बैशाखमा पनि मधेसी दलका सांसद अपहरण गरेर काठमाडौँ ल्याएको आरोप लागेको थियो । गतवर्ष लकडाउनका बेला पूर्वआइजीपी सर्वेन्द्र खनाललाई लिएर मधेश झरेका बस्नेतले तत्कालीन संघीय समाजवादी पार्टीका सांसदलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौँ ल्याई मेरियट होटलमा बन्धक बनाएको आरोप लागेको थियो । पछि समाजवादी पार्टीले प्रहरी हुँदै राष्ट्रिय मानव अधिकार आयोगसम्म अपहरणको आरोपमा उजुरी दर्ता गर्न प्रयास गरेको थियो ।

केही दिनअघि मात्र बस्नेतमाथि जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीलाई पोखरा पुगेर ‘गायव’ बनाएको आरोप पनि लागेको थियो । गण्डकी प्रदेशसभामा विपक्षीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि एमाले नेतृत्वको सरकार ढल्न लागेका बेला बस्नेत सरकार जोगाउन पुगेका थिए ।

अविश्वासको प्रस्तावका पक्षमा खुलेका शाहीलाई रातारात बिरामी भएको नाटक गर्न लगाएर बस्नेत नेतृत्वको टिमले राजीव पहारीको चरक हस्पिटल पुर्याएको जनमोर्चाको आरोप थियो । सांसद शाही गायव भएकै दिन बस्नेत एमाले नेताको लगानी रहेको उक्त हस्पिटलमा झुल्किएका थिए ।

टिप्पणीहरू