सवारी दुर्घटनामा ५ जनाको मृत्यु

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

तनहुँ, कञ्चनपुर, चितवन र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

तनहुँको आबुखैरेनी गाउँपालिका–२, खानीखोलास्थित सडकमा प्रदेश ०२–०१८ प.७८९३ नम्बरको मोटरसाइकललाई ग.१ क २८७७ नम्बरको ट्रिपरले बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक दोलखा घर भएका २७ वर्षीय सुरज बुढाथोकीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हाडजोर्नी अस्पताल आबुखैरेनी हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरिफाटास्थित सडकमा से.१ त ४४४१ नम्बरको ट्याक्टरले से.३ प ३००५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–६ बस्ने २७ वर्षीय प्रकाश रोकाया र २६ वर्षीय सुरज जप्रेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता चितवनको भरतपुर महानगरपालिका–११ विशाल चोकस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट परिचय नखुलेका करिब ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

मोरङको ग्रामथान गाउँपालिका–४ स्थित लोहोन्द्र खोलामा को.१ त ४९०२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई बिहीबार राति पल्टिएर दुर्घटना हुँदा ट्रयाक्टर चालक कटहरी गाउँपालिका–७ बस्ने ३५ वर्षीय दिलकुमार मुडभरीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू