बहुमत जुटाउन नसकेका विपक्षीहरु रणनीति बनाउन जुटे

बहुमत जुटाउन नसकेका विपक्षीहरु रणनीति बनाउन जुटे

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितका विपक्षी दलहरु भावी रणनीति बनाउन छलफलमा जुटेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु छलफल गरिरहेका छन् ।

नयाँ सरकार गठनका लागि भएका प्रयासको समीक्षा र भावी रणनीतिबारे साझा धारणा बनाउन छलफलमा जुटेको बताइएको छ ।

विपक्षी दलले काँग्रेस सभापति देउवाको नेतृत्वमा बहुमतीय सरकार गठनको प्रयास गरेका थिए । तर,बहुमत जुटाउन नसक्दा वैकल्पिक सरकार गठन हुन सकेन । त्यसैबारे समीक्षा गर्न बैठक बसेको बताइएको छ ।

प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत गुमाएपछि कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र पक्षले वैकल्पिक सरकार गठनका लागि प्रयत्न गरेका थिए । तर जसपाकै महन्थ खेमा ओलीतिर लागेपछि उनीहरुको प्रयास असफल भएको थियो ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम विपक्षीहरुले बहुमतको सरकार बनाउन नसकेपछि संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतले हिजो केपी ओली पुन: प्रधानमन्त्री नियुक्त हुनुभएको छ । तर, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ओलीले अब विश्वासको मत लिन जाँदा कसरी असफल गराउने भन्नेबारे साझा रणनीति तय गर्न विपक्षीहरुले छलफल थालेको बुझिएको छ ।

टिप्पणीहरू