यसरी हुँदैछ मधेसी दलमा विभाजन र एकता

यसरी हुँदैछ मधेसी दलमा विभाजन र एकता

सत्ताका लागि पार्टी फुटाउने गरेको आरोप खेपिरहेका मधेसवादी दलले यसपटक पनि त्यस्ता आरोपलाई मिथ्या सावित गर्न सकेनन् । सरकार गठनलाई लिएर लामो समयदेखि विवादमा फसेको जनता समाजवादी पार्टी (जसपा) केपी शर्मा ओलीको पुन: सत्तारोहणसँगै विभाजनको डिलमा पुगेको छ ।

उक्त नाम फ्रिज भैसकेकाले संघीय जनता पार्टी गठन गर्ने छलफल अन्तिम चरणमा पुगेको बुझिएको छ ।’

काँग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठनको प्रयासमा रहेको पार्टीको बहुमत (उपेन्द्र-बाबुराम) खेमालाई चक्मा खुवाउँदै महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीको पक्षमा लागेपछि मधेसवादी दल भनेर चिनिएको जसपा फुटको सन्निकट पुगेको हो ।

हिजो पुन: प्रधानमन्त्री नियुक्त भएका ओलीलाई भेट्न बालुवाटार पुगेका महन्थ-राजेन्द्रले नयाँ पार्टी बनाएर सरकारमा जाने संकेत दिइसकेको जसपाका एक नेताले खुलासा गरेका छन्  । पार्टी र संसदीय दलमा प्रष्ट बहुमतमा रहेको उपेन्द्र-बाबुराम पक्षले सरकारमा गए कारवाही गर्ने चेतावनी दिइरहेका बेला महन्थहरु आफैं नयाँ पार्टी गठनको तयारीमा जुटेको स्रोतको दाबी छ ।

‘जसपामा अब विभाजन कसैले चाहेर रोक्न सक्ने देखिंदैन,बहुमत पक्षले कारवाही गर्दा महन्थ ठाकुरहरु अर्को दल बनाएर जाने तयारीमा हुनुहुन्छ’,निकट स्रोतले भन्यो, पहिलेको राजपा नै लिने उहाँहरुको चाहना देखिन्छ । तर उक्त नाम फ्रिज भैसकेकाले संघीय जनता पार्टी गठन गर्ने छलफल अन्तिम चरणमा पुगेको बुझिएको छ ।’

महन्थको संघीय जनता पार्टी र हृदयेशको समाजवादी जनता दलबीच एकता गरेर चुनाव केन्द्रित अभियानमा लाग्ने सहमति भएको स्रोत दाबी गर्छ ।

त्यस्तो नाम जुराउनुको पनि अर्थ रहेको भन्दै स्रोत अगाडि भन्छ,  ‘नाममा संघीय जोडिंदा मधेसको मात्र नभई सिंगो मुलुकको प्रतिनिधित्व गर्ने दलका रुपमा देखाउन सकिने उहाँहरुको बुझाइ होला । भएको पार्टी धुजाधुजा बनाएर गरिने यस्ता तर्कको के अर्थ रहला र !’

यता,सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जिती शुरुदेखि नै ओली सरकारमा मन्त्री खाइरहेका हृदयेश त्रिपाठी पनि दल दर्ताको तयारीमा जुटेको  बताइन्छ । स्रोतका अनुसार त्रिपाठी समूह समाजवादी जनता दल नामको पार्टी खोल्ने अन्तिम गृहकार्यमा छ । नयाँ पार्टी गठनपछि महन्थको संघीय जनता पार्टी र हृदयेशको समाजवादी जनता दलबीच एकता गरेर चुनाव केन्द्रित अभियानमा लाग्ने सहमति भएको स्रोत दाबी गर्छ ।

अबको एक महिनामा जसपा विभाजन,नयाँ दल गठन हुँदै एकतासम्म भ्याइसक्ने गरी तीब्र तयारी थालिएको बताइन्छ । जिकिर गर्दै स्रोतले भन्यो,’एक महिनामा दल दर्ता गरिसक्ने र केपी ओलीलाई विश्वासको मत दिने उहाँहरुको तयारी छ ।’

महन्थ खेमाले पौने दर्जन मन्त्रालय र उपसभामुखमा दावी गरेको छ । हिजो प्रधानमन्त्रीसँगको भेटमा त्यसबारे छलफल भैसकेको बताइन्छ । प्रधानमन्त्रीले महन्थ खेमालाई सरकारमा भाग लिन आव्हान पनि गरिसक्नुभएको छ  ।

मधेसी दलमा पैदा भएको यस्तो ध्रुविकरणले दुई नम्बर प्रदेश सरकारको भविष्य पनि धरापमा पर्ने अनुमान गरिएको छ । त्यहाँ मुख्यमन्त्री उपेन्द्र पक्ष र सभामुख महन्थ खेमाका छन् । त्यसैले गण्डकी र लुम्बिनीमा जस्तै दलीय स्वार्थका बाछिटाले कुनैपनि बेला सरकार ढल्ने,त्यसपछि महन्थ खेमा र एमालेको ओली पक्ष मिलेर सरकार बनाउने सम्भावना बढेको बताइन्छ ।

हृदयेशको ठाउँमा शुक्लालाई लैजाने खेल 

यता,हृदयेश त्रिपाठीलाई फुकालेर सर्वेन्द्रनाथ शुक्ललाई स्वास्थ्यमन्त्री बनाउने चलखेल पनि शुरु भएको बताइन्छ । महन्थ र हृदयेश दुवै बालुवाटारका विश्वासपात्र भएपनि स्वास्थ्यमन्त्रीमा शुक्लालाई लैजान महन्थले ओलीलाई कन्भिन्स गरेको स्रोतको भनाइ छ ।
स्रोतले भनेअनुसार महन्थकै कारण सरकारमा आफ्नो दोस्रो इनिङ सम्भव भएको बुझ्नुभएका ओली त्यसको गुण तिर्न महन्थको रोजाईको पात्रलाई रोजेको मन्त्रालय दिन तयार हुनुहुन्छ  । त्यसो त आफ्नै विश्वासपात्र भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाउँदा ओम्नी प्रकरणमा विवादित भएकाले एमाले बाहिरकालाई स्वास्थ्य मन्त्रालय जिम्मा लगाउन ओलीले नै चाहेको र महन्थले भनेकै पात्रले स्वास्थ्यमा इन्ट्री गर्ने अनुमान लगाइएको छ ।
भानुभक्त विवादमा आउनुअघि उपेन्द्र यादवलाई थन्क्याइएको स्वास्थ्य मन्त्रालय पछि हृदयेशलाई जिम्मा दिइएको हो । अब महन्थले चाहे हृदयेशलाई रिप्लेस गरेर शुक्ला स्वास्थ्यमन्त्री बन्ने सम्भावना छ ।

अहिले मेडिकल शिक्षा र समग्र स्वास्थ्य क्षेत्रमा राम्रो आम्दानी हुने देखिएकाले शुक्ला स्वास्थ्यमन्त्री बन्न मरिहत्ते गरेर लागेको बताइन्छ ।

टिप्पणीहरू