सेनाको सोच,सेनाबाट बाहिरिनासाथ आलोचना थ्री प्लस वान सेनाको नयाँ सांगठनिक ढाँचाबारे बहस

सेनाको सोच,सेनाबाट बाहिरिनासाथ आलोचना थ्री प्लस वान सेनाको नयाँ सांगठनिक ढाँचाबारे बहस

सेनाले थ्री प्लस वनको नयाँ सांगठनिक ढाँचा कार्यान्वयन गर्ने योजना अघि सारेसङ्गै आर्थी भार नपार्ने सोचसहित लेफ्टिनेण्ट जर्नेलको नयाँ दरबन्दी थप्ने र दुई वटा चमु स्थापना हुने अवस्था अन्त्य भएको छ ।

केही पृतना हेडक्वार्टर बन्द भएतापनि त्यताबाट तानिने दुई तारे जर्नेलको दरबन्दीलाई भने जङ्गी अड्डामा मिलान गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार अब प्रधान सेनापतिको सैनिक सचिवालय,नगरकोट शिक्षालय र कल्याणकारीमा दुई तारेको दरबन्दी थपिने भएको छ । बाँकी पृतनामा भने मेजर जनरलको दरबन्दीले नै कमाण्डको प्राक्टिस गर्ने व्यवस्था मिलाइएको छ । अब उपत्यका बाहिर अब कायम रहने तीन कमाण्ड सुर्खेत,पोखरा र इटहरीमा मेजर जनरलले नै काम गर्ने भएका छन् ।

“अमेरिकाको उक्त नीति वेभसाइटमा हेर्न पाइन्छ । तर,हाम्रोचाँहि बिरालोले बिष्टा लुकाएझैँ दबाएर राखिएको छ ।”

नेपाली सेनाले अघि सारेको कमाण्डको कन्सेप्टचाँहि अमेरिकी शैलीको हो । अमेरिकी सेनाले अफ्रिका कमाण्ड,प्यासिफिक कमाण्डको अवधारणामा संगठन सञ्चालन गरेको छ । उसले पछिल्लो पटक इण्डो प्यासिफिक कमाण्ड बनाएको छ ।

अमेरिकाको नेशनल सेक्युरिटी पोलिसीमा नै सेना र कमाण्ड राष्ट्रप्रति उत्तरदायी हुने व्यहोरा स्पष्टसँग लेखिएको छ । हाम्रोमा पनि राष्ट्रिय सुरक्षा नीति बनिसकेको छ । अमेरिकाको उक्त नीति वेभसाइटमा हेर्न पाइन्छ ।

तर,हाम्रोमा चाँहि बिरालोले बिष्टा लुकाएझैँ दबाएर राखिएको छ । राष्ट्रको सुरक्षा गर्ने विषयलाई पनि हामीले गोप्य मान्दै आएका छौं । हाम्रो र विकसित राष्ट्रबीचको मूलभूत भिन्नता भनेकै त्यहि रहेको सुरक्षा विश्लेषक बालानन्द शर्मा,बिनोज बस्न्यात र केशर भण्डारीहरू बताउँछन् ।

हाम्रोमा अन्यत्रझैँ सेनातर्फ पुराना अभिलेखको समस्या रहेकाले विगतको बारेमा यथेष्ट जानकारी लिन हम्मे परेको अवस्था छ । अहिले अघि सारिएको थ्री प्लस वनको संगठन तालिका निर्माणको क्रममा भएको अध्ययनमा शुरुदेखिका व्यवस्था केलाउँदा लामो समयको जानकारी भेट्टाउन मुश्किल भएको थियो ।

बेला बेलामा समयानुकूल संगठनको अवधारणा कार्यान्वयन गर्ने क्रममा विगतका निर्णय र व्यवस्था लिपिबद्ध नभएकाले ती नयाँ नीति र योजना कुन आधारमा गरिएको थियो भन्न मुश्किल परेको सम्बन्धित अधिकारीहरू बताउँछन् ।

अहिले थ्री प्लस वनमा जाँदा पहिले लेफ्टिनेण्ट जनरलको दरबन्दी थप्ने कुरो भएको थियो । तर,तीन तारे जर्नेलको दरबन्दी बढाउने भनेर गरिएको काम दुई तारे पनि घट्ने अवस्थामा पुगेको बताइन्छ ।

जसोतसो दुई तारेचाँहि समायोजन गरेर भएपनि नघट्ने बनाइएको छ । नयाँ संगठन स्वरुप निर्माणको क्रममा सरकारलाई आर्थिक बोझ नपर्ने ढंगले बनाइएकाले सरकारले स्वीकृत गर्नेमा सेनाको उच्च तह ढुक्क देखिन्छ ।

तर,अहिले नयाँ संगठन प्रणाली लागू गर्ने उपयुक्त बेला वा होइन भन्ने बहस पनि शुरु भएको छ । विकराल बन्दै गएको कोभिड संक्रमणको कारण उक्त योजनालाई सेनाले थाति राख्नुपर्ने बताउन थालिएको छ । केहीले कन्सेप्ट जन्मेकै थियो,आगामी नेतृत्वलाई पूरा गर्न दिएको भए हुन्थ्यो भनेका छन् भने अर्कोथरिले आफ्नै पालामा शुरु गरेको काम आफैँले पूरा गर्न पाइयोस् भन्ने जनुसुकै नेतृत्वको इच्छा हुने भएकाले अहिले लागू गर्नु ठीकै हो भनेका छन् ।

यता,सेनाको नयाँ संगठन रुपरेखा लाई पूर्वजर्नेल सुरेन्द्र रावलले सार्वजनिक रुपमा आलोचना गरेका छन् । रावललाई पोहोर अमेरिका तालिममा गएको बेला झिकाएर कारबाही गरिएको थियो । उनको सानो गल्तीका कारण अरु केही सैनिक अधिकृतले समेत कारबाही भोगेका थिए । उनीहरू सबैको जागिर खोसिएको थियो ।

एक खालकाले पाउनुपर्ने नेशनल डिफेन्स कोर्स (एनडीसी) अर्कैथरीले पाउने गरी पिएसओजलाई थाहै नदिएर लुसुक्क रक्षा मन्त्रालयमा पत्राचार गरेपछि रावल लगायतकालाई कारबाही गरिएको बताइन्छ । नियोजित रुपमा गरिएको उक्त निर्णयको भागिदार भएकाले एकजना कर्णेलले समेत जागिरबाट हात धुनु परेको थियो ।

रावलको जागिर खोसिएको धेरै भएको छैन । त्यसैले अहिलेको नेतृत्वले अघि सारेको नयाँ कन्सेप्टमाथि टिप्पणी गरेर उनले आफूलाई एक्सपोज गर्न खोजेको सैनिक अधिकारीहरूको निचोड छ ।

टिप्पणीहरू