हिजोको वार्ता किन लम्बियो, कतिसम्म भनाभन भयो प्रधानमन्त्री ओली र नेता नेपालबीच ?

हिजोको वार्ता किन लम्बियो, कतिसम्म भनाभन भयो प्रधानमन्त्री ओली र नेता नेपालबीच ?

बिहीबार हात्तीगौंडा चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको निवासमा भेटघाट हुँदा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच शुरुको केहीबेर असन्तुष्टि प्रकट,गुनासो र निकै चर्काचर्की परेको बताइन्छ ।

मिल्नैपर्ने आशयले भेटघाट गरेपनि प्रारम्भमा दुवैजना नेताको रवैया एकले अर्कोलाई निषेध गरेर जाने ढंगकै थियो भन्दै स्रोत भन्छ ‘दुई तीन चोटि त, यो बसाइको के अर्थ भन्दै झाेंक्काझाेंक्की नै भयो । धेरै पटक जुरुक्क जुरुक्क उठेर हिँड्ने समेत कोशिस भएको थियो ।’ तर उठेरै हिँड्ने मनस्थितिमा दुबैजना देखिनुभएको थिएन ।

प्रारम्भमा देखिएको उहाँहरुबीचको कुराकानी र गुनासा तिक्ततापूर्ण थिए । तर पनि एमालेभित्रको लामो विवाद ‘आइसब्रेक’ भएकोमा प्रधानमन्त्री ओली र नेता नेपालबीचको भेटवार्ता मिलाउने टोली भने थापाको कोठा बाहिर दंग देखिन्थ्यो ।

स्रोत भन्छ ‘कोठा बाहिर नै सुनिने गरी निकै चर्को स्वरमा दुवैजना बोल्नुभएको थियो । चर्काचर्की राम्रैसँग पर्यो ।’

पछि अवस्था सामान्य बन्दै गएपछि उहाँहरुबीच दुवैतर्फका ५ जना नेता रहेको १० जनाको कार्यदल बनाउने र अघि बढ्ने रोडम्यापको खाका कोरिएको थियो । त्यसपछि २०७५ जेठ २ गतेको स्टाटस र फागुन २८ को बैठकलाई कसरी सम्बोधन गर्ने भन्नेबारे लामो छलफलपछि त्यहि कार्यदलले आवश्यक होमवर्क गरेर सुझाव दिने बताइएको छ ।

तर कार्यदलको अवधि भने तोकिएको छैन । सहमतिमा जतिसक्दो छिटो भनिएको छ । कार्यदलका सदस्यको बारेमा केही पनि उल्लेख छैन ।

चर्काचर्की अलि मत्थर भएपछि सबैभन्दा पहिले नेपालले जेठ २ गतेको बारेमा कुरा उठाउनुभयो । प्रधानमन्त्रीले कुरो लम्ब्याउन थालेपछि नेपालले भन्नुभयो ‘तपाईं सहमति गर्ने कि नगर्ने ? अरु कुरा नगरौं । तपाईं जेठ २ गतेको विषयमा सहमतिमा आउने कि नआउने ? फागुन २८ को बारेमा के भन्नुहुन्छ ?’

सँधै चर्को स्वरमा कुरा राख्ने प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले त्यसबेला नरमसँगै ‘हुन्छ’ मात्र भनिरहनुभयो । त्यसपछि कार्यदलको बारेमा दुबैजना सहमत हुनुभएको थियो ।

कार्यदलमा सम्भवतः नेपाल समूहको तर्फबाट भीम रावल, घनश्याम भुसाल,सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र रघुजी पन्त तथा प्रधानमन्त्री एवम् एमाले अध्यक्षको तर्फबाट सुवास नेम्वाङ,विष्णु पौडेल,शंकर पोखरेललगायतका नेताहरु रहने बताइएको छ ।

टिप्पणीहरू