ओली र नेपालको सहमतिमा अखिलको असहमति

ओली र नेपालको सहमतिमा अखिलको असहमति

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको भेटवार्ताले एमाले विभाजन रोक्ने अपेक्षा गरिएका बेला ओलीपक्षीय अनेरास्ववियुका अध्यक्ष एन महरले दुई नेताबीचको सहमति नमान्ने बताएका छन् ।

आजै ओलीपक्षीय स्थायी कमिटी बैठकले नेपाल पक्षका चार नेतामाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो । नेपाल पक्षका नेताहरुले उक्त निर्णयको स्वागत गरिरहेका बेला महरले पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुको कारबाही फिर्ता नहुने चेतावनी दिएका हुन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुको कारबाही फिर्ताको कुनै सम्भावना छैन ।’

केही महिनाअघि अनेरास्ववियुले निवर्तमान सचिवहरू सुदेश पराजुली,वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । महरले उक्त कारवाही फिर्ता नलिने बताएका हुन् । पराजुली अहिले नेपाल पक्षीय अनेरास्ववियुका अध्यक्ष छन् ।

ओलीलाई बा भनेर बोलाउने विद्यार्थी संगठनका अध्यक्षले नै कारवाही फिर्ताको निर्णयलाई चुनौती दिएपछि ओलीले माधव पक्षलाई अल्झाएर विपक्षी गठवन्धनलाई बहुमत पुग्न नदिने चाल चालेको भन्ने अनुमानलाई बल मिलेको छ ।

टिप्पणीहरू