महानगरका ३२ वटै वडामा खोप केन्द्र (भिडियो )

महानगरका ३२ वटै वडामा खोप केन्द्र (भिडियो )

काठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोश्रो डोज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ ।

पहिलो डोज लगाउने समयमा खोप केन्द्रहरु व्यवस्थित नहुँदा सर्वसाधरणको भीड अत्याधिक भएको र खोप केन्द्रहरुमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोश्रो डोज लगाउने कार्यलाई व्यवस्थित बनाउन लागेको हो ।

सबै वडामा खोप केन्द्र स्थापना हुने भएपछि भीडभाड कम हुनुको साथै जनस्वास्थ्यका मापदण्ड पालना तथा कार्यान्वयनमा पनि सहज हुने र खोप लगाउनकै लागि हिडेर टाढा पुग्नुपर्ने बाध्यता हटेको छ ।

महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरिबहादुर कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको निर्णयअनुसार भेरोसेलको दोश्रो डोज लगाउनका लागि महानगरका सबै वडामा खोप केन्द्र स्थापना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरले २०७७ चैत २५ गतेदेखि २०७८ बैशाख १५ गतेसम्म १८ वर्षदेखि ५९ वर्षभित्रकाले लगाएको भेरोसेल खोपको दोश्रो डोजका जेठ २ गतेदेखि ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो ।

महानगरपालिकाभित्र भेरोसेल खोपको पहिलो डोज लगाएकाहरु १ लाख २५ हजार भएपनि टोखा र बुढानिलकण्ठ नगरपालिकाको पनि आउन सक्ने सम्भावनालाई मध्यनजर गरि १ लाख ५० हजारलाई लगाउने गरि तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका १ लाख ५९ हजार जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् ।

टिप्पणीहरू