महन्थलाई प्रधानमन्त्री चाहिएन,ओलीलाई हटाउन पाइएन

महन्थलाई प्रधानमन्त्री चाहिएन,ओलीलाई हटाउन पाइएन

पार्टीलाई फुटबाट बचाउन भन्दै जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले थालेको प्रयास असफल भएको छ ।

नयाँ सत्ता समिकरणलाई लिएर पार्टी फुटको डिलमा पुगेका बेला हिजो डा.भट्टराई र बालुवाटार तथा शीतल निवासबाट फर्केलगत्तै अध्यक्ष महन्थ ठाकुरबीच बालकुमारीस्थित पार्टी कार्यालयमा वान टु वान वार्ता भएको थियो । तर,ठाकुर पुरानै अडानमा टसको मस नभएपछि समस्या यथावत रहेको जसपा स्रोतले बतायो ।

बैकल्पिक सरकार गठन प्रक्रियामा सहभागी नहुने अडानमा रहेका ठाकुरलाई भट्टराईले प्रधानमन्त्रीमा अघि सर्न गरेको प्रस्ताव पनि नमानेको बताइएको छ ।

ठाकुरले पुरानै अडान दोहोर्याउँदै अहिले सत्ता समीकरण हेरफेरमा जान नहुने बताएका थिए । उनले तटस्थ बस्ने निर्णय नै सही हुने अडान राखेको बैठक स्रोत बताउँछ ।

स्रोतका अनुसार भट्टराईसँग ठाकुरले प्रधानमन्त्री ओलीसंगै मिलेर जानुपर्ने धारणा राखेका थिए । ‘केपी ओलीसंग राम्रै कुरा भएको छ । मुद्धा सम्बोधन गर्छु भनेका छन् । केही मान्छे छाडेको पनि छ । कुरा राम्रै दिशामा बढिरहेको छ । त्यसैले अहिले उनलाई नै साथ दिएर जानुपर्छ’, ठाकुरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

महन्थ आफ्नो अडानमा रहेपछि अब जसपा विभाजनमा जाने निश्चित देखिएको छ । प्रधानमन्त्रीमा दाबी गरौँ भन्दा पनि केपी ओलीलाई छोड्न सक्दिन भनेपछि अब पार्टी एकजुट रहने सम्भावना सकिएको जसपाका नेताहरु बताउँछन् ।

आफूले पाएको लाइनमा महन्थ चट्टानी अडानमा देखिए । “महन्थलाई अब पगाल्न सक्ने सामर्थ्य नेपालका कसैको रहेन’,एक नेताले भने,अब केपी ओलीले नै मलाई समर्थन नगर्नु भने पनि महन्थले मान्दैनन्,किनभने पारिको सल्लाह त्यहि छ ।

जसपामा सरकारमा जाने विषयलाई लिएर लामो समयदेखि विवाद छ । अध्यक्ष उपेन्द्र यादव र डा.भट्टराई खेमा ओलीको बहिर्गमनका लागि वैकल्पिक सरकारको पक्षमा छ । यो समूहले काँग्रेस र माओवादीसँग मिलेर वैकल्पिक सरकारमा दाबी प्रस्तुत गरिसकेको छ ।

महन्थ खेमा भने प्रधानमन्त्री ओलीलाई नै समर्थन गरेर जानुपर्ने अडानमा छ । अस्ति प्रधानमन्त्रीले राखेको विश्वासको मतमा तटस्थ बसेको महन्थ खेमा विपक्षीलाई पनि सहयोग नगर्ने रणनीतिमा छ । महन्थले हिजै उपेन्द्रले गरेको निर्णय आधिकारिक नहुने भन्दै मान्यता नदिन राष्ट्रपति भण्डारीलाई भेटेर आग्रह गरेका थिए ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय आज साँझ सकिदैछ । त्यसअगाडि नै सहमति जुटाउन दलहरुबीच दौडधुप चलिरहेको छ भने एमालेका असन्तुष्ट नेताहरुलाई आश्वासन दिएर राजीनामा रोकाउने अभ्यास पनि चलिरहेकै छ ।

टिप्पणीहरू