गंगालालमा कोभिडको मात्रै उपचार, ७० वर्ष माथिकालाई नो भेण्टिलेटर, वीर अस्पतालमा पनि अक्सिजनको हाहाकार

गंगालालमा कोभिडको मात्रै उपचार, ७० वर्ष माथिकालाई नो भेण्टिलेटर, वीर अस्पतालमा पनि अक्सिजनको हाहाकार

अनौपचारिक हिसाबले सबै अस्पतालमा ७० वर्षमाथिका कोरोना संक्रमितलाई भेण्टिलेटरमा राखेर उपचार नगर्ने निर्णय भएको छ । गंगालालको पनि आन्तरिक बैठकमा त्यहि सहमति भएकाे बताइन्छ । गत वर्ष इटालीमा यहि पध्दति अपनाइएको थियो ।

यता मुलुककै ठूलो अस्पताल वीरको पाँच सय शैयाको नयाँ कोभिड वार्डमा आज बिहानबाट अक्सिजनको पाइप लाइन बिग्रेको छ । अधिकांश आईसीयु बिरामीका आफन्तलाई समेत अक्सिजन सिलिण्डरको जोहो गर्न भनिएको छ । अक्सिजनकाे अभावमा त्यहाँ पनि बिरामीका आफन्त चिन्तित बनेका छन् ।

उता मुटु रोगको उपचार गर्ने गंगालालमा ४० जना गम्भिर प्रकृतिका बिरामीले आईसीयुको पालो कुरी बसेका छन् । अक्सिजन अभावको कारण सर्वत्र हाहाकार मच्चिएको छ । काठमाडौंका ठूला र सम्पन्न अस्पतालले समेत अक्सिजनको अभावमा कोरोना बिरामीको उपचारमा हात ठड्याइसकेका छन् ।

सरकारी अस्पताल स्रोतका अनुसार सरकारको गलत नीतिका कारण अहिले बिरामीको चाप अस्पतालमा परेको बताइन्छ । स्राेतका अनुसार सामान्य बिरामीलाई घर वा नजिकको स्थानीय स्वास्थ्य केन्द्रमा अक्सिजन लगाउने व्यवस्था नगरेपछि सबै बिरामी अस्पताल पुग्न बाध्य भएका हुन् ।

बजारमा रहेको अक्सिजन कन्सन्ट्रेटर सबै खरिद गरेर सरकारले सामान्य बिरामीलाई त्यसको पहुँच र सिकिस्तलाई ग्याँस सिलिण्डरको प्रबन्ध मिलाउनुपर्नेमा त्यसो नभएपछि परिस्थिति भयावह भएको स्राेतकाे दाबी छ।

केही समयअघि ४० हजार रुपैयाँमा पाइने अक्सिजन कन्सन्ट्रेटर अहिले कालोबजारीमा दुई लाख रुपैयाँसम्म लिन थालिएको छ । यसतर्फ सरकार मौन बसेको कारण पनि अक्सिजनको मागमा चाप परेको स्वास्थ्यविद्हरू बताउँछन् ।

उता पशुपति आर्यघाटको विद्युुतीय शव दाहगृहमा लाश जलाउने पालो २४ घण्टामा पनि नआएपछि हिजोदेखि मृतकको शवको लाइन देखिन थालेको छ ।

टिप्पणीहरू