प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिण्डर संकलन

प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिण्डर संकलन

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ५ सय ४७ थान अक्सिजन सिलिण्डर संकलन गरिएको छ ।

संकलन गरिएका सिलिन्डरहरूमध्ये १ सय ८३ भरिएका र ३ सय ६४ रित्तो सिलिण्डर रहेको बताइएको छ । तीमध्ये ५ सय १२ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।

बाँकी रहेका ३५ थान सिलिन्डर जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने छ भने खाली सिलिण्डर भर्नका लागि डिपोमा समेत पठाइएको प्रहरीले बताएको छ ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिण्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघ संस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्याँस वेल्डिङ, पसल तथा गोदामहरूमा मौज्दात राखेका अक्सिजन सिलिण्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार वितरण गरिएको बताइएको छ ।

विश्वव्यापी रुपमा फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो चरणको संक्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्णरुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले समेत थप सक्रियता बढाएको हो ।

साथै स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि मौज्दात राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भइरहेको जनाइएको छ । जथावाभी तवरबाट मौज्दात गर्नेलाई प्रचलित ऐन कानुनबमोजिम कारबाही समेत हुने प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू