राजीनामाको निर्णय स्थायी कमिटीले टुंग्याउने

राजीनामाको निर्णय स्थायी कमिटीले टुंग्याउने

एमालेको माधव नेपाल समूहले सांसदहरुको सामूहिक राजीनामाबारे निर्णय लिने अधिकार स्थायी कमिटीलाई दिएको छ ।

हिजो बसेको स्थायी कमिटीको जुम बैठकले प्रतिनिधिसभाको सांसदसमेत रहेका स्थायी कमिटी सदस्यहरुलाई यस्तो निर्णय गर्ने अधिकार सुम्पिएको एक नेताले बताए ।

नेपाल समूहमा सांसदहरुको राजीनामा र पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर बिबाद उत्पन्न भएको चर्चा चलिरहेका बेला आपसी सहमतिमै निर्णय गर्न नेताहरु एकमत भएको ती नेताले बताए । बैठकमा नेताहरुका फरक-फरक धारणा आएपनि बाहिर चर्चा गरिएजस्तो विवाद नरहेको उनले बताए । बैठकमा तत्काल राजीनामा दिने कि परिस्थिति हेरेर केही दिन कुर्ने भन्नेमा सामान्य मतभिन्नता देखिएको उनले स्वीकार गरे ।

झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले अहिले नै राजीनामा दिनु उपयुक्त हुने धारणा राखेको तर घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु भने केही दिन कुरेर परिस्थितिअनुसार निर्णय गर्नुपर्ने पक्षमा उभिएको बताइन्छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण पनि गरिएको थियो । जसपा एकढिक्का हुँदा राजीनामा दिनै नपर्ने भएकाले हत्तार गर्न नहुने मत बैठकमा उठेको ती नेता बताउँछन् ।

‘तत्काल राजीनामा दिने कि परिस्थिति हेरेर निर्णय गर्ने भन्नेबारे सामान्य मतभेद देखिएको हो, बाहिर चर्चा गरिएजस्तो होइन । त्यसैले यसबारे निर्णय गर्न प्रतिनिधिसभामा भएका स्थायी कमिटीका कमरेडहरुलाई जिम्मा दिने निर्णय भएको छ’, उनले भने ।

सरकार गठनको सन्दर्भमा जसपाको निर्णय कुर्ने बैठकले निर्णय गरेको छ । जसपाले निर्णय गर्दा सरकार गठनको आधार बन्ने भएकाले ‘पर्ख र हेर’ को कोणबाट कुरा उठेको बताइन्छ ।

‘जसपाले औपचारिक पत्र दिएको छ । सांसदहरुको पत्रभन्दा पनि दलको पत्रलाई आधिकारिक मान्ने होला । त्यसैले उनीहरुको बहुमत पुग्छ भने हामी किन हतारिने भन्ने हो’, ती नेताले भने ।

प्रतिनिधिसभालाई विघटनको अवस्थामा जान नदिनेमा भने नेपाल समूहका नेताहरु एकढिक्का रहेको बताइन्छ । अहिले केपी ओली नै प्रधानमन्त्री भए पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यतिबेला राजीनामा दिन उपयुक्त हुने नेताहरुको धारणा आएको बुझिएको छ ।

टिप्पणीहरू