मुख्यमन्त्री दाबी गर्दै चार दलका नेता प्रदेश प्रमुखको कार्यालयमा

मुख्यमन्त्री दाबी गर्दै चार दलका नेता प्रदेश प्रमुखको कार्यालयमा

गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र,जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।

चार दलीय गठवन्धनले बहुमतको दावीसहित भर्खरै प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पत्र बुझाएको हो । पत्रमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअगाडि नै राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिनै लाग्दा विपक्षी गठवन्धनका नेताहरु पत्र लिएर प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ मत चाहिन्छ । विपक्षी गठवन्धनसँग ३१ मत प्रष्ट देखिएकोमा जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा पार्टी निर्णयविरुद्ध उभिएका थिए । थापा तटस्थ बस्ने भएपछि संख्या पुगेको दाबीसहित उनीहरुले पत्र बुझाएका हुन् ।

थापालाई जनमोर्चाले संसदीय दलको नेताबाट आजै हटाएको थियो ।

टिप्पणीहरू