लैंगिक हिंसालाई सम्बोधन गर्न नेपाल प्रहरी तयार

लैंगिक हिंसालाई सम्बोधन गर्न नेपाल प्रहरी तयार

महामारीको समयमा महिला, बालबालिका, जेष्ठ नागरिक वा जोखिमपूर्ण अवस्थाका नागरिकविरुद्ध हुनसक्ने घरेलु, यौनजन्य वा अन्य लैंगिक हिंसालाई तत्काल सम्बोधन गर्न नेपाल प्रहरी हरदम तत्पर रहेको बताएको छ ।

हिंसालाई तत्काल सम्बोधन गर्न गुनासो सुन्ने व्यवस्था समेत गरिएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले भनेको छ, ‘कृपया हिंसा सहेर वा हेरेर नबसौं, बेलैमा उजुरी गरौँ । यो संकटको समयमा हामी तपाईंसँगै छौँ ।’

लैंगिक हिंसा सम्बन्धी गुनासोको लागि टोल फ्री १०० र बालबालिका सम्बन्धी १०४ नम्बरमा सम्पर्क गर्न सकिने उक्त निर्देशनालयले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरले पुनः निम्त्याएको जोखिमपूर्ण परिस्थितिमा हिंसाका घटनाहरू बढ्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुसूचित हुन विशेष सूचना जारी गरिएकाले सर्वसाधारणमा सचेत रहन निर्देशनालयले आग्रह समेत गरेको छ ।

टिप्पणीहरू