उपेन्द्र खेमाले राष्ट्रपतिलाई पार्टीको विधान देखाउने

उपेन्द्र खेमाले राष्ट्रपतिलाई पार्टीको विधान देखाउने

सत्ता समीकरणमा महन्थ ठाकुर खेमा छुट्टै धारमा उभिएपछि जसपाको उपेन्द्र यादव पक्ष पार्टीमा बहुमतले निर्णय गर्ने तयारीमा जुटेको छ । नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनमा उभिएको उपेन्द्र पक्षले आवश्यक परे बहुमतले निर्णय गरेर जाने तयारी गरेको हो ।

जसपामा यादव खेमा बहुमतमा छ । ५१ सदस्सीय केन्द्रीय कार्यकारिणी समितिमा यादवको पक्षमा कम्तिमा २६ सदस्य रहेको बताइन्छ । त्यस्तै संसदीय दलमा समेत यादवको पक्षमा बहुमत रहेको उनीहरुको दाबी छ । पार्टी र संसदीय दल दुवैतिर बहुमत भएकाले यादव पक्ष जुनसुकै बेला बैठक बोलाएर निर्णय गराउने तयारीमा रहेको निकट स्रोत बताउँछ ।

बहुमतको निर्णय नै पार्टी निर्णय हुने विधानमा व्यवस्था गरिएकाले त्यसैका आधारमा विपक्षी गठवन्धनसँग मिलेर सरकार बनाउने तयारी भैरहेको पनि स्रोतले जानकारी दियो ।

उक्त स्रोतका अनुसार राष्ट्रपतिले आनाकानी गरे पार्टीको विधानसमेत बुझाउने उनीहरुको तयारी छ । ‘राष्ट्रपतिले दलको पत्रका आधारमा हेर्ने हो, दलभित्र को कता भनेर टाउको गन्ने कुरा हुँदैन । यदि त्यस्तो गरियो भने बहुमत कता छ र दलको विधानको व्यवस्था के छ भनेर देखाउने भनेको हुन सक्छ’, उक्त स्रोत भन्छ ।

हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलमा पनि यादवले एकमतले निर्णय गराउने प्रयास सफल नभए बहुमतले निर्णय गर्ने बताउनुभएको बताइन्छ ।

लुम्बिनीमा जसपाका चार सांसदले पार्टी ह्वीप उल्लंघन गरेको घटनामा पनि उपेन्द्र पक्ष बहुमतले कारवाहीको सिफारिस गरेको थियो । त्यसलाई समेत नजिरका रुपमा लिनुपर्ने उनीहरुको तर्क छ ।

प्रधानमन्त्री केपी ओली पदमुक्त भएसँगै अहिले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकारमा दाबी पेश गर्न राष्ट्रपतिले दलहरुलाई आव्हान गर्नुभएको छ । लगत्तै काँग्रेस, माओवादी र जसपाको उपेन्द्र खेमाले सरकारको दाबी प्रस्तुत गर्दै औपचारिक पत्र पठाइसकेका छन् । उक्त पत्रमा जसपा अध्यक्षको हैसियतमा यादवले हस्ताक्षर गर्नुभएको छ ।

यता, जसपाकै महन्थ खेमा भने यादवको निर्णयको विरुद्धमा छ । महन्थले वैकल्पिक सरकार गठनमा सहभागी नहुने भन्दै वक्तव्य जारी गर्नुभएको थियो ।

टिप्पणीहरू