आफ्नै समूहभित्र अप्ठेरोमा माधव, के भयो हिजोको बैठकमा ?

आफ्नै समूहभित्र अप्ठेरोमा माधव, के भयो हिजोको बैठकमा ?

पार्टीभित्रको अन्तरसंघर्षमा प्रधानमन्त्री केपी ओलीसंग लडिरहनु भएका एमाले बरिष्ठ नेता माधवकुमार नेपाल आफ्नै समूहभित्र अप्ठेरोमा पर्नुभएको छ । पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नै समूहका नेताहरु दुई कित्तामा उभिएपछि उहाँ अप्ठेरोमा पर्नुभएको हो ।

पार्टीमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको एकाधिकारका विरुद्ध संघर्ष चर्काउन नेपाल समूह एकमत छ । तर, तत्कालिन कार्यनीतिबारे नेताहरुबीच समान धारणा बन्न नसक्दा विवाद देखिएको हो ।

आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि किस्ता-किस्तामा अल्टिमेटम दिँदै सांसदहरुको सामूहिक राजीनामा दिने नेपाल समूहको चेतावनी थियो । तर, सामूहिक राजीनामाको प्रस्ताव ल्याउनेहरू नै अहिले ब्याक भएपछि असन्तुष्टि चर्किएको बताइन्छ ।

‘अस्ति दिएको भए ओलीविरुद्धको असन्तुष्टि भनेर सबैले राम्रो मान्थे अब राजीनामा गर्दा देउवालाई सघाएको अर्थ लाग्छ ।’

नेपालनिकट स्रोतका अनुसार सबैभन्दा पहिले फ्लोरक्रस गर्नुको सट्टा सामूहिक राजीनामाको प्रस्ताव उपमहासचिव घनश्याम भुसालले ल्याउनुभएको थियो । अस्ति २७ गते प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव गर्नुअगावै सांसदहरुले सामूहिक राजीनामा दिएर असहयोग गर्नुपर्ने सुझाव भुसालकै थियो । तर, अन्तिम घडीमा भुसाल आफैँ आफ्नो प्रस्तावबाट पछि हटेको र विकल्प अझै धेरै बाँकी रहेको भन्दै युवा पुस्ता अडिग भएपछि २७ गते बिश्वासको मत लिने कुरामा अनुपस्थित रहेतापनि राजीनामाको हकमा निर्णय हुन नसकेको बताइन्छ ।

यहि विषयलाई लिएर नेपाल समूहको हिजो बसेको स्थायी कमिटीको जुम बैठकमा नेताहरुबीच राम्रै मन माझामाझ भएको स्रोत बताउँछ । सामूहिक राजीनामा दिने कि नदिने भन्ने पक्ष-विपक्षमा नेताहरुको २-३ थरी धारणा आएको हो । स्रोतका अनुसार बैठकमा युवा नेताहरु एकातिर र पाका नेताहरु अर्कोतिर भएका थिए ।

घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु सामूहिक राजीनामा दिन नहुने पक्षमा अडिग रहँदा झलनाथ खनाल, डा.भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरु राजीनामा दिएर जानुपर्ने पक्षमा उभिएको बताइन्छ ।

ओलीले गल्ती रियलाइज गर्ने छाँट नदेखिएको र आफूहरुको मागअनुसार पार्टीलाई एकतापूर्वको अवस्थामा पुर्याएर सबैलाई समेट्ने सम्भावना नदेखिएकाले छुट्टै पार्टी बनाएर जानुपर्ने खनाल,रावललगायतका नेताहरुको तर्क थियो । राजीनामाको विपक्षमा उभिएका नेताहरुले भने अझै पनि वार्ता र छलफलकै माध्यमबाट समाधान खोज्ने विकल्प बाँकी रहेकाले एमालेमै रहेर अन्तरसंघर्ष चलाउनुपर्ने अडान राखेका थिए ।

पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर पनि बैठकमा मतभिन्नता देखिएको बताइन्छ । बैठकमा अधिकांश नेताले आफूहरु अनिर्णित हुँदा फेरि संसद विघटन हुने अवस्था बनेको भन्दै निकास दिनुपर्ने धारणा राखेको स्रोत बताउँछ । घनश्याम भुसाल, योगेश भट्टराईलगायतका केही नेताहरुले भने सत्ता राजनीतिमा ध्यान दिन नहुने तर्क गरेका थिए ।

स्रोतका अनुसार अहिले राजीनामा दिँदा विपक्षीलाई सहयोग गरेको सन्देश जाने भएकाले त्यस्तो निर्णय आफैंलाई हानिकारक हुने भुसालहरुको दलिल थियो । यता, नेपाल, खनाल र रावलहरुले भने विपक्षीहरुसँग गरिएको सम्झौताअनुसार जानुपर्ने बताएका थिए । त्यसरी जाँदा संसद विघटनलाई पनि रोक्न सकिने हुँदा त्यो उपयुक्त निर्णय हुने उनीहरुको धारणा थियो ।

नेपाल समूहको पछिल्लो विवादलाई ‘ठीक समयमा निर्णय गर्न नसक्दाको परिणाम’ भन्नेहरु धेरै छन् । एमालेकै एक नेता भन्छन्, ‘माधव नेपालका खास भनिएकाहरुले नै खुट्टो नटेक्दा उहाँ (नेपाल) कमजोर बन्नुभएको हो । नेकपा हुँदा उहाँसंग ४४ जना सांसद थिए । दुई महिनामा घटेर ३५ मा पुग्यो । अहिले समानुपातिकलाई मतदान गर्न खुल्ला छाडिएको अवस्थामा २८ जना उहाँको साथमा छन् भनिएको छ तर निर्णायक घडीमा कतिजना रहने हो थाहा छैन ।’

ती नेता प्रश्न गर्दै भन्छन्, ‘के यस्तो कमजोर हुनुपर्ने नेता हो त माधव कमरेड ?’ प्रतिनिधिसभाको विघटन रोक्न विपक्षीलाई सघाउने गरी जानुपर्छ भन्ने नेता नेपालको धारणा जायज भएपनि अस्ति २७ गते नै सामूहिक राजीनामा नदिएर गल्ती गरेको उनको तर्क छ । भन्छन्, ‘अस्ति दिएको भए ओलीविरुद्धको असन्तुष्टि भनेर सबैले राम्रो मान्थे अब राजीनामा गर्दा देउवालाई सघाएको अर्थ लाग्छ ।’

नेपाल समूहको अर्को पक्षका नेताहरु भने विपक्षी गठवन्धनमा जानु गलत हुने तर्क गरिरहेका छन् । उनीहरु छुटै पार्टी बनाएर जानुभन्दा पार्टीमै रहेर अन्तरसंघर्ष गर्ने र चुनावबाट ओलीलाई साइजमा ल्याउन सकिने बुझाइमा छन् ।

आफ्नै टिमभित्रै पकड गुमाएपछि नेता नेपालले काँग्रेस सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग गरेको सहमतिको भविष्यमाथि प्रश्न उठेको छ । उनीहरुबीच ओलीको बहिर्गमन, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा मिलेर जाने सहमति भएको बताइएको थियो ।

‘अस्ति २७ गते नै कम्तिमा २० जनाले राजीनामा दिएको भए आज नै सरकार बनिसक्थ्यो । मेजोरिटी शो भएपछि राष्ट्रपतिले पनि दायाँबायाँ गर्न मिल्दैनथ्यो । अब त्यो अवस्था रहेन । त्यसैले फेरि पनि सत्ता ओलीकै हातमा पुग्ने देखियो । यसले एकातिर पार्टीमा नेपाल समूह थप कर्नरमा पर्ने, अर्कोतिर राष्ट्रिय राजनीति पनि ओलीकै पकडमा जाने सम्भावना बढायो ।’

टिप्पणीहरू