महन्थको तटस्थ निर्णय दिल्लीलाई ‘कम्फर्टेबल’

महन्थको तटस्थ निर्णय दिल्लीलाई ‘कम्फर्टेबल’

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बालुवाटारसँग नजिकिनु र अस्ति संसदमा तटस्थ रहनुको एक पछि अर्को पर्दा खुल्न थालेको छ ।

भाजपा नेता एस. सुब्रमन्यनले हिजो ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई भारतको बलियो समर्थन रहेको धारणा सार्वजनिक गरेकै दिन त्यहाँको सत्तानिकट हिन्दुस्तान टाइम्सले आफ्नो सम्पादकीयमा अर्को सनसनीपूर्ण खुलासा गरेको छ ।

हिजोको आफ्नो सम्पादकीयमा हिन्दुस्तान टाइम्सले भारतको सल्लाह र सुझावमा ठाकुर तटस्थ बसेको दावी गरेको हो ।

“This is widely attributed to India’s advice to Mr Thakur to stay neutral, since Mr Oli still has New Delhi’s support.”

सम्पादकीयमा प्रधानमन्त्री ओलीलाई नयाँ दिल्लीको समर्थन रहेकै कारण ठाकुरलाई तटस्थ बस्न सल्लाह दिइएको पनि उल्लेख छ । ‘ठाकुर तटस्थ रहनुमा भारतले दिएको सल्लाह जिम्मेवार छ, किनकि ओलीलाई अझै नयाँ दिल्लीको समर्थन छ ।’

हिजो स्वामीले दिएको अभिव्यक्तिले पनि ओलीको समर्थनमा भारतले महन्थहरुलाई प्रयोग गरिरहेको आशय प्रष्टिन्छ । संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेको सन्दर्भलाई संकेत गर्दै उनले लेखेको ट्वीटमा भनिएको छ, ‘मेरो बुझाइमा ओली भारतको रोजाइमा छन्, प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भए चीनको जीत हुनेछ ।’

त्यसअघिको एउटा ट्वीटमा स्वामीले नेपालमा जतिधेरै ओलीको आलोचना हुन्छ त्यति नै उनी बलियो बन्दै जाने हुँदा रणनीति परिवर्तन गर्न सरोकारवालाहरुलाई सुझाव दिएका थिए ।

यता, परस्पर दुई विपरित ध्रुवमा विभाजित पात्र एकै ठाउँमा उभिनु र उता भारतीय नेताहरुको यस्तो अभिव्यक्ति सार्वजनिक हुनुले भारतको रणनीतिअनुसार नै सत्ता समिकरणका खेल अघि बढिरहेको आरोप लगाउनेहरुलाई बल मिलेको छ ।

यसअघि, जसपाले ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा उनी स्वयंले अस्वीकार गरेको चर्चा थियो । शीर्ष नेताहरुको बैठकमा ठाकुरले आफू प्रधानमन्त्री नबन्ने प्रष्ट पार्दै जसरी पनि ओलीलाई नै समर्थन गर्नुपर्ने ढिपी कसेको बताइन्छ ।

संसदमा विश्वासको मत नपाउँदा पनि प्रधानमन्त्री ओलीमा देखिएको कन्फिडेन्स र पार्टी फुटाएरै भए पनि ओलीलाई साथ दिने महन्थको तयारीको कनेक्सन स्वामी र हिन्दुस्तान टाइम्सले छताछुल्ल पारिदिएको बुध्दिजीवीहरुवीच चर्चा छ ।

टिप्पणीहरू