जसपा एक ठाउँ आउने सम्भावना अब बाँकी छ कि छैन ?

जसपा एक ठाउँ आउने सम्भावना अब बाँकी छ कि छैन ?

सोमबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रस्तावमाथि विपक्षी कुनै पनि दलका सांसदले मत नहालेपछि एकाएक शेरबहादुर देउवाको सट्टा महन्थ ठाकुरको सम्भावना बढेको चर्चा चलाइयो । चर्चा चलाउनेहरूले भने-अब महन्थ र उपेन्द्रबीच ध्रुवीकरण हुन पनि सक्छ ।

नेपाल-भारत सम्बन्ध तथा मधेशवादी दलबारे राम्रो जानकारी राख्ने एकजना विज्ञलाई जनआस्थाले सोध्यो ‘अब पनि उपेन्द्र र महन्थहरू एकै ठाउँमा बस्न सक्लान् र ?’ उनले संक्षेपमा भने -“चमत्कारको ५% सम्भावना बाँकी नै छ ।’

त्यसको के आधार हुनसक्छ भनेर सोधिएको जिज्ञासामा उनको विश्लेषण थियो ‘उनीहरूको संख्या निर्णायक हुनेबित्तिक्कै एक ठाउँमा बस्न सक्छन् । त्यसमा पनि हिजो देखिएको विपक्षी गठबन्धनको मतमा महन्थको १५ थप्ने बित्तिक्कै नयाँ सरकार बनाउन सजिलो हुन्छ । कारण यहि हो ।’

त्यसैगरी उनका अनुसार अबको मौका नछाड्न मधेशवादी दलहरूको मुख्य रिमोट कन्ट्रोल रहेको ठाउँबाट पनि त्यस्तै सल्लाह आउन सक्छ । साथै उनीहरूले यहि विषयमा पार्टी विभाजन नगर्न पनि सल्लाह दिनेछन् ।

जसपाको एउटा समूहले प्रधानमन्त्रीको विपक्षमा भोट हाल्यो भने अर्कोले तटस्थ बसेर प्रधानमन्त्रीलाई घुमाउरो पाराले नै समर्थन गरेको पनि देखिएको छ । उनका अनुसार त्यो भनेको पनि ओलीलाई नै सपोर्ट हो ।

मधेश राजनीतिका विज्ञ भन्छन् ‘हिजो जनभावनाभन्दा फरक ढंगले महन्थहरू तटस्थ बसे । त्यसले राम्रो म्यासेज गएन किनभने पछिल्ला दिनमा आएर सर्वसाधारण प्रधानमन्त्रीको विरुद्ध देखिएका थिए । उहाँको पक्षमा थोरै मात्र हुँदै गएको अवस्थामा त्यसो गर्नुलाई मधेशमा राम्रो मानिएको छैन ।’

प्रधानमन्त्री ओलीसँग यसबीचमा ठाकुरहरूले एक कदम अघि बढेर जुन सहकार्य गरेका थिए,हिजो त्यसमा आफूलाई कृतघ्न देखाउन समेत नचाहेको उनी बताउँछन् ।

त्यसो भए अब हुन्छचाँहि के त ? भन्ने जनआस्थाको जिज्ञासामा उनको विश्लेषण छ ‘अबको स्थितिलाई मेल खाने गरेर महन्थले राम्रो स्पष्टीकरण दिन सक्छन् । स्पष्टीकरणमा उनले प्रधानमन्त्रीलाई “तपाईंलाई मैले साथ दिए पनि मेजोरिटी पुग्दैन । त्यसकारणले म डेडलकको पात्र किन बन्ने ? भन्ने ठाउँ रहन्छ ।’

ठाकुरको भावी स्पष्टीकरणबारे उनी थप्छन् ‘राजनीतिक निकास दिनु मेरो पनि कर्तव्य हो । विगतमा रामचन्द्र पौडेललाई सत्र राउण्डसम्म प्रधानमन्त्रीको उम्मेदवार बनाइएको थियो । त्यो स्थिति अहिले सम्भव छैन । कोरोनाको कारण पनि तुरुन्तै अर्को वैकल्पिक सकार बनाउनै पर्ने हुन्छ ।’

उनै विशेषज्ञको भनाइअनुसार कोभिडको डरलाग्दो अवस्था नभएको भए हिजोको मतदानमा देखिएको परिणाम विपक्षीहरूको निम्ति ठूलो विजय हो । तर, अबको गेमअनुसार जसपालाई मिलाउनैपर्ने हुन्छ । नयाँ सरकार बनेको अवस्थामा जसपाले बढी सेयर (भाउ) खोज्छ । उसले पार्टी एउटा तर धार दुई वटा भएकाले आगामी सरकारमा धेरै भाग खोज्ने पक्का छ ।

हिजोको महन्थको तटस्थता पार्टी टुट्नबाट जोगिनको लागि मात्र भएको विश्लेषण छ । त्यसैले आधा सांसद बिरुद्धमा र आधा तटस्थ बसेका हुन् ।

हिजै उपेन्द्रले नयाँ सरकार गठनको लागि तीन दलको संयुक्त विज्ञप्तिमा दस्तखत गरिदिएका छन् । तर,उपेन्द्रको उक्त भूमिकालाई भारतीयहरूले नरुचाएको भनेर बताउनेहरू पनि धेरै छन् । त्यहाँ (जसपा) भित्र उनीहरूले सबैभन्दा रुचाउने भनेको डा.बाबुराम भट्टराई भएको तर उनलाई पनि भाउ दिन छाडिएको स्रोतको दाबी छ ।

टिप्पणीहरू