धौलागिरि अस्पतालमा कुश्माका एक कोरोना संक्रमित पुरुषको मृत्यु

धौलागिरि अस्पतालमा कुश्माका एक कोरोना संक्रमित पुरुषको मृत्यु

-राजेशचन्द्र राजभण्डारी
बागलुङको धौलागिरि अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ पाङका ४७ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार राति मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताए ।

वैशाख २० गते धौलागिरि अपतालको सघन उपचार कक्षमा भर्ना भएका उनलाई अस्पतालमा गरिएको पीसीआर परीक्षणमा २१ गते संक्रमण पुष्टि भएको थियो ।

फोक्सोमा निमोनियाको संक्रमण र श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको डा. पोखरेलले बताए । धेरै प्रयास गर्दा पनि बचाउन नसकिएको उनले बताए । आइतबार राति मृत्यु भएको उनले जानकारी दिए ।

डा. पोखरेलले मृत्तक पुरुषलाई कोभिड निमोनियाको साथै मिर्गौलामा समस्या र ब्लड प्रेसरको समस्या रहेको बताए ।

मृतकको मंगलबार नेपाल सेनाले दाहसंस्कार गर्ने जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

धौलागिरि अस्पतालमा हाल २ जना सघन कक्षमा सहित ३३ जना कोरोना संक्रमित छन् । सबै संक्रमितलाई अक्सिजन लगाउनुपर्ने भए पनि १० जना संक्रमित बढी अक्सिजन लगाउने रहेकाको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. पोखरेलले बताए ।

बागलुङ जिल्लामा कोरोना संक्रमणबाट अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू