महन्थको मन पग्लियो कि ओलीको बिश्वास अग्लियो ?

महन्थको मन पग्लियो कि ओलीको बिश्वास अग्लियो ?

हुन त राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र दुवै हुँदैनन् भनिन्छ । मुध्दाका आधारमा समीकरणहरु फेरबदल हुनु असामान्य पनि होइन । तर,केही गठवन्धन यति अस्वभाविक र अप्राकृतिक हुन्छन्, जुन नेपाली राजनीतिमा बेलाबेला प्रकट हुने गरेका छन् ।

पछिल्लो समय जनता समाजवादी पार्टीको एउटा खेमा र प्रधानमन्त्री केपी शर्मा ओलीको गठवन्धन त्यसैगरी अप्राकृतिक ढंगले अगाडि आएको छ ।केही महिना अघिसम्म पनि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीको सबैभन्दा खरो आलोचक थिए । ओलीमाथि मधेस,संघीयता र समानुपातिक समावेशीको मुध्दामा अनुदार रहेको महन्थहरुकै आरोप थियो । महन्थहरुको मुख्य माग भनिएको संविधान संशोधनको एजेन्डामा त प्रधानमन्त्रीको कठोरता सार्वजनिक रुपमै प्रकट भएको हो ।

महन्थले भने झैं संविधान संशोधन मधेशीको मूल एजेन्डा हो भने के अब त्यो अल्पमतको सरकारबाट सम्भव छ ?

मधेसी,आदिवासीलाई अपमान गरेको,संविधान संशोधनमा कठोर बनेको,संघीयताको विरोध गरेको जस्ता आरोप लगाइएका प्रधानमन्त्री ओलीसँग तिनै महन्थ ठाकुर र राजेन्द्र महतोहरुको अहिले दर्बिलो लगनगाँठो कसिएको छ । मधेस आन्दोलनमा मारिएका मान्छेमाथि ओलीले गरेको टिप्पणीको महन्थहरु अस्तिसम्म चर्को बिरोध गर्थे । त्यतिबेला प्रधानमन्त्री ओलीले ‘दुई चार वटा कुहिएका आँप झर्दैमा केही फरक पर्दैन’ भनेर अभिव्यक्ति दिएको भन्दै सबैभन्दा बढी आलोचना पनि महन्थहरुकै सुनिन्थ्यो ।

आफूलाई मधेसका मसिहा ठान्ने महन्थ-राजेन्द्रहरु अहिले ओलीको सत्ता जोगाउन कम्मर कसेर लागेका छन् । कतिसम्म भने प्रधानमन्त्री ओलीलाई सहज बनाउन आफ्ना १५ सांसद तटस्थ राखेका उनीहरु अहिले विपक्षी गठवन्धनलाई बहुमत पुर्याउन नदिने खेलमा खुलेका छन् । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकार गठनका लागि प्रयास जारी राखेकै बेला हिजो विज्ञप्ति निकालेर महन्थले ओलीको निरन्तरताको पक्षमा आफूलाई उभ्याउन भ्याइसके ।

जुन संविधान भारतले रुचाएन र जसलाई फाल्न महन्थ-राजेन्द्र सीमानामा धर्ना बसे,अब त्यही संविधान धुजाधुजा पार्ने पारिको मिशन पो हो कि ?

महन्थको विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई आदिवासी,जनजाति, थारु,मधेसी,मुस्लिमलगायतका समुदायको नायक चित्रण गरिएको छ । जबकि कुनैबेला ओलीलाई पहाडे राष्ट्रवादी,एकल जातीय अहंकारी,नश्लवादी जस्ता गम्भीर आरोप उनीहरु नै लगाउँथे । महन्थले भनेका छन्, ‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुध्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुध्दाबाट बिचलित भै सरकार निर्माण गर्ने,सरकारमा सहभागी हुने र कुनै किसिमको वैकल्पिक सरकार गठनमा सहभागी हुने कार्य जसपा नेपालको उध्देश्यविपरित हो ।’,

महन्थको यस्तो भनाइ आएपछि प्रश्न उठेको छ- के त्यसोभए प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायतका मुध्दा सम्बोधन गरिसक्नुभएको हो ? यदि हो भने यसअघि ओलीमाथि लगाएका आरोपहरु के हुन् त ? महन्थले अझै अगाडि बढेर ओली इतरको सरकार बने मधेस आन्दोलनको मर्म विपरित हुने, अस्थिरता निम्तिने र आफूहरुको एजेन्डा सम्बोधन कार्य अनिश्चिततातर्फ धकेलिने जिकिर गरेका छन् । महन्थले भने झैं संविधान संशोधन मधेशीको मूल एजेन्डा हो भने के अब त्यो अल्पमतको सरकारबाट सम्भव छ ?

अरुबेला जे-जे गरेपनि राजनीतिको निर्णायक घडीमा गरिने निर्णयले दीर्घकालीन महत्व राख्छ । यस्तो बेला दलहरुले गर्ने निर्णय सिंगो मुलुक र जनताको भविष्यको प्रश्नसंग गाँसिएको हुन्छ । एजेन्डा र मुध्दामा दुईतिर मुख फर्काएका पात्रहरु जबर्जस्त मिल्नुले न मुलुकको समस्या हल गर्छ न जनताको आकांक्षा सम्बोधन हुन्छ । अहिले महन्थहरुको निर्णय त्यस्तै देखिएको छ ।

त्यसो त यी दुईको मिलनलाई कतिपयले पारीको निर्देशन र चाहना पनि भनेका छन् । यद्यपि त्यस्ता आरोपको स्वतन्त्र पुष्टि गर्ने आधार छैन । एउटा कुरा के चैं हो भने दुई परस्पर अतिवादी खेमाका भनिएकाहरु एकै ठाउँमा आइपुग्नु रहस्यमय चैं छ । जुन संविधान भारतले रुचाएन र जसलाई फाल्न महन्थ-राजेन्द्र सीमानामा धर्ना बसे,अब त्यही संविधान धुजाधुजा पार्ने पारिको मिशन पो हो कि ?’ कतिपयले आशंका गरेका छन् ।

टिप्पणीहरू