करेन्टले २ र चट्याङले एक जनाको ज्यान लग्यो

करेन्टले २ र चट्याङले एक जनाको ज्यान लग्यो

धनकुटा र दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–५,बाल मन्दिरका राजु श्रेष्ठको १० वर्षीय छोरा संजोगको करेन्ट लागेर निधन भएको हो ।

घरकै विद्युतको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले बताएको छ ।

यस्तै,दाङको घोराही उपमहानगरपालिका–११, नयाँबस्तीका ४५ वर्षीय टेकबहादुर गन्धर्वको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको बारीमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता,डोटीमा चट्याङ लाग्दा एक बृद्धको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका–५,गैराका ५० वर्षीय पदमे मलासी घरमा बसिरहेको बेला चट्याङ लाग्दा मृत्यु भएको प्रहरीले बताएको छ ।
यसैवीच, पर्सामा पहिचान नखुलेको एक शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका–८ स्थित दूरसञ्चार भवनअगाडि पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार बेवारिशे शव बारेमा अनुसन्धान भइरहेको छ । प्राप्त अर्को समाचारअनुसार
चितवनको एउटा बैंक रहेको भवनमा आगलागी भएको छ । भरतपुर महानगरपलिका–१० चौबिसकोठीस्थित प्राईम कमर्सियल बैंकको शाखा कार्यालय रहेको भवनमा विद्युत सर्ट भई हिजो साँझ आगलागी भएको हो ।

आगलागीबाट बैंकको करिब ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताउँदै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू