तौली तौली चालिने अबका राजनैतिक कदम

तौली तौली चालिने अबका राजनैतिक कदम

संसदमा हिजो भएको मतदानमा विपक्षी गठबन्धनको १ सय २४ मत मात्र देखिएकाले संविधानको धारा ७२ (२) अनुसार पर्सि बिहिवारसम्म दुई वा दुईभन्दा बढी दलको सरकार बन्ने सम्भावना न्यून देखिन्छ ।

यसबीच जसपाका महन्थ ठाकुरले हिजो जारी गर्नुभएको विज्ञप्तिले समेत विपक्षी दलको गठबन्धनमा सरकार बन्ने सम्भावनालाई झन् क्षीण बनाइदिएको छ ।

सरकार बन्ने र ढल्नेमा निर्णायक मानिएको जसपामा देखिएको अन्तरविरोधले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदको भूमिकालाई निर्णायक बनाएको छ ।

अब प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो अनुपस्थित हुने नेपालतर्फका केही समानुपातिक सांसदलाई हटाएर आफ्नो पक्षका ल्याएपनि जम्मा १ सय सांसद मात्र हुन्छन् । उनीहरू प्रधानमन्त्रीलाई विश्वासको मत दिनभन्दा आफ्नो पद गुमाउन तयार भएको समेत पाइयो ।

तर,प्रधानमन्त्री ओलीले नेपाल समूहका विशेषगरी प्रत्यक्ष निर्वाचित सांसदहरूको पद तत्काल झिक्ने सम्भावना निकै कम छ । झण्डै दुई दर्जन एमाले सांसदलाई हटाउने बित्तिक्कै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने बाटो सजिलै खुल्छ ।

अर्कोतर्फ नेपाल समूहले राजीनामा दिएर अघि बढ्नसक्ने सम्भावना पनि त्यत्तिकै छ । त्यसो गर्दा केन्द्रदेखि प्रदेशसम्म बन्ने नयाँ सरकारमा तालमेल मिल्नेछ । एक बर्षमा त स्थानीय र प्रदेशको चुनाव त हुनु नै छ । त्यसैगरी जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवार डा. खिमलाल देवकोटालाई जसरी पनि जिताउनु छ ।

अर्कोतर्फ प्रधानमन्त्री ओली सत्तामा बसिरहनु माधव समूहलाई राम्रो संकेत होइन । त्यसैले ओलीको बहिर्गमनको निम्ति शेरबहादुरको सरकार बनाउन थप मार्ग प्रशस्त गरिदिनुपर्ने हुन्छ । त्यसको लागि कम्तिमा २० जना सांसदले राजीनामा दिनुपर्छ ।

त्यसपछि प्रतिनिधिसभामा कायम हुन आउने सांसद संख्या २ सय ५२ मात्र हुन आउँछ । त्यस्तो अवस्थामा १ सय २६ जना सांसद भए सरकार बनाउन पुग्छ ।

यता,प्रधानमन्त्री ओलीको योजना तीन दिनको म्यादभित्र विपक्षीले सरकार बनाउन नसकेपछि ठूलो दलको नाताले पुनः प्रधानमन्त्री हुने हो । जेठ १५ गतेसम्म आफ्नै नेतृत्वमा नयाँ सरकार बनाएर बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारी छ । त्यसपछि विश्वासको मत लिँदा प्राप्त नहुने निश्चित छ ।

त्यसपछि चुनावमा जानुको विकल्प नहुने गरी योजनाबद्ध काम भएको बताइएको छ ।

टिप्पणीहरू