विश्वासको मत लिनुअघि नियुक्ति थरिथरिका

विश्वासको मत लिनुअघि नियुक्ति थरिथरिका

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको संवैधानिक परिषद् बैठकले गरेको नियुक्तिका भित्री रहस्यहरू बिस्तारै खुलेका छन् ।

संसदमा विश्वासको मत लिनु एक दिन अगाडि भएको नियुक्तिमा विभिन्न समयमा गुन लगाएकाहरूलाई प्राथमिकता दिइएको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिश गरिएका डा. हरि पौडेल राष्ट्रपति कार्यालयका सचिव हुनुहुन्छ । उहाँको कार्यकाल तीन वर्ष बाँकी छँदाछँदै आयुक्त बनाइएको छ ।

त्यसरी कार्यकाल बाँकी छँदै सचिवलाई अन्यत्र नियुक्त गर्दा उनी सचिवमा बढुवा भएको वर्ष नियुक्ति पाउनुपर्ने अर्का एक जना सहसचिवले उक्त अवसर गुमाएकोतर्फ कसैले ध्यान पुर्याएको देखिँदैन ।

पुस ५ गते प्रधानमन्त्रीले संसद विघटनको सिफारिस तयारी गरिरहँदा मङ्ग्सिर ३० गते नै नेकपाका नेता भीम रावल र पम्फा भुसाल समावेदन पत्र बोकेर राष्ट्रपति भवन पुग्नुभएको थियो । समावेदन पत्र दर्ता गर्न सचिव पौडेलको कार्यकक्षमा लामो समय बसेपनि उहाँ दर्ता नगरी मोबाइल अफ गरेर बस्नुभएको थियो ।

पछिको भेटमा उहाँले आफू छ घण्टासम्म पिसाब फेर्न गएको जवाफ दिएर उम्कनुभयो । रावल र भुसालले समावेदन दर्ताको निस्सा बुझेर जाने अडान लिएपछि उहाँ मोबाइल अफ गरेर हराउनुभएको हो ।

अहिले त्यहि पिसाब फेर्न गएको बेलाको मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको बताइन्छ । मोबाइल अफ गरेर हराएको अवधिमै समावेदन पत्रको फोटोकपी बालुवाटार पुर्याइएको थियो ।

त्यसैगरी,फागुन २३ गते नेकपा टुक्राउने गरी फैसला गर्ने सर्वोच्चका श्रीमान् कुमार रेग्मीका सहोदर दाजु माधव रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष बनाएर पुरस्कृत गरिएको छ ।

यता,अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलाएपछि रिक्त विभिन्न पदमा नियुक्तिको चहलपहल शुरु भएको छ ।

यसअघि नै नियुक्तिको लागि चर्चामा रहेका परराष्ट्रका सहसचिव निर्मल काफ्ले,यादव खनाल र प्राध्यापक कृष्णचन्द्र शर्माहरूको अब फेरि पालो आएको भन्न थालिएको छ ।

टिप्पणीहरू