माधव नेपालद्वारा सरकारलाई बिश्वासको मत नदिनुको कारण खुलासा

माधव नेपालद्वारा सरकारलाई बिश्वासको मत नदिनुको कारण खुलासा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता,राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादालगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएकाले आज आफूहरू संसदमा अनुपस्थित भएको बताउनुभएको छ ।

आज साँझ जारी गर्नुभएको प्रेस वक्तव्यमा नेपालले उहाँका गलत क्रियाकलापहरूको विरोध र प्रतिवाद गर्दै देश,जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त,लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तव्य हुने भएकाले सोहीअनुरुप आफूहरूले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरिएको उल्लेख गर्नुभएको छ ।

नेपालले भन्नुभएको छ ‘यो निर्णय हाम्रो देश,जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई फेरि पनि देश,जनता र पार्टीप्रति जिम्मेवार भएर सोच्न,देशको संविधान र पार्टी विधानको सम्मान गर्न,विगतका गल्तिहरूलाई सच्याउन,पार्टी एकताका लागि हामीले अगाडि सारेका कुराहरू सम्बोधन गर्न र राष्ट्र तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गर्दछौं ।’

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीले राष्ट्रिय हित,स्वाधिनता र स्वाभिमानमा आँच पुग्ने किसिमका गतिविधिहरू गर्दै राज्यलाई नै कमजोर तुल्याइरहेको समेत बताउनुभएको छ ।

प्रदेश सरकारहरूलाई पनि सत्ता संघर्षतर्फ धकेलेर अस्तव्यस्त बनाउनेतर्फ प्रधानमन्त्रीको संलग्नता रहेको उल्लेख गर्दै नेपालले भन्नुभएको छ ‘गण्डकी र लुम्बिनी प्रदेशमा संविधान र लोकतन्त्रको मर्म तथा मान्यता विपरित भएका कार्यहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ ।’

टिप्पणीहरू