आदर्श उदाहरणको अपारदर्शी व्यापार

आदर्श उदाहरणको अपारदर्शी व्यापार

– लेखनाथ भण्डारी
डेढ दशकभन्दा बढी सत्ताको नेतृत्व गरेकी जर्मन चान्सलर एन्जेला मर्केललाई पत्रकारहरुले वर्षौंसम्म एउटै पोशाकमा देखे । युरोपकै धनी देशका चान्सलरको यो कस्तो चाला हो ? पत्रकारहरुले सोधे । उनले भनिन्, ‘म कुनै मोडेल, सेलिब्रिटी होइन । मलाई राज्यबाट प्राप्त हुने सुविधा दुरुपयोग गर्नु छैन ।’

एकजना पत्रकार तथा अधिकारकर्मी साथीले यसै प्रसंगमा थप्नुभयो, ‘हामी विश्वकै गरिब देशका नागरिक हौं । सामन्तवादको प्रतिनिधिका रुपमा रहेको राजसंस्थाको पनि जरा–नंग्रा फालिसक्यौं । यद्यपि हाम्रा कतिपय जनप्रतिनिधिलाई सूर्योदय र सूर्यास्तका सार्वजनिक कार्यक्रमहरुमा छुट्टाछुट्टै पोशाकमा देख्ने अवसर पाउँछौं । उहाँहरुलाई एउटै पोशाकमा देखिएको कमैलाई थाहा होला ।’ जर्मन चान्सलरले पत्रकारहरुलाई थप स्पष्टीकरण दिइन्, ‘मेरो घरमा निजी कामकाजका लागि नोकरचाकर पनि छैनन् । श्रीमान र म मिलेरै घरायसी कामहरु गर्छौं ।’

‘यी एक जनाको पोल खोलेर आफ्नै पेशा कसरी बन्द गर्नु ? साराको पोल खोलिदिने सूचनाका  श्रोत त उनै हुन् ।’

चाणक्य विश्वप्रसिद्ध अर्थ, राजनीति, कूटनीति आदिका ज्ञाता हुन् । उनका नीतिहरु प्रेरणादायी र व्यावहारिक पनि मानिन्छन् । एउटा सन्दर्भ यस्तो छ– उनी निजी काम गर्दा र राज्यको काम पर्दा अलग–अलग बत्ती बाल्थे । निजी काम गर्दा निजी सम्पत्ति आर्जनको तेल हालेको दियो हुन्थ्यो भने राज्यको काम गर्दा राज्यकोषको पैसाले किनेको तेल हालेको दियो बल्थ्यो ।

अमेरिकी राष्ट्रपति अब्राहम लिंकनका कामहरुको खरो आलोचना गर्ने एक कर्मचारीलाई सधैं पदोन्नति गरियो । राष्ट्रपतिलाई अन्धसमर्थकहरुले सोधे, ‘यो कर्मचारी सधैं तपाईंकै आलोचना गर्छ, तपाईं भने सधैं उसैको पदोन्नति गर्नुहुन्छ, किन ?’ लिंकनले भने, ‘म पनि सामान्य मानिस हुँ । हामी दुवैले राज्यको सेवा गर्ने सपथ खाएका छौं । उनले मेरा कमी–कमजोरी औंल्याइदिन्छन् र त मैले सच्याउने मौका पाएको छु ।’

त्यसो त राम्रा उदाहरण हेर्न र प्रेरणा लिन अमेरिका, युरोपतिर पुगिरहनै पर्दैन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आफ्ना भाइ तारिणीलाई स्वकीय सचिव बनाएका थिए । एकदिन बिहानै तारिणीले बीपीलाई खबर नै नगरी कुनै बद्नाम व्यापारीलाई बिस्तरामा पु¥याएछन् ।

बीपीले भाइलाई हटाएर अर्को व्यक्तिलाई स्वकीय सचिव बनाएको सन्दर्भ कुमारमणि दीक्षितको संस्मरणमा सार्वजनिक भएको छ । युरोप वा अमेरिकाको उदाहरणहरुभन्दा पनि एक से एक अन्य प्रेरणादायी हाम्रा आदर्शहरु हुनुहुन्छ– गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी आदि । गणेशमानको इष्टकोट र लौरो सधैं उही वा उस्तै हुन्थ्यो । किसुजनीको छाता र सुराही ट्यांका बालुवाटारबाट फर्किंदा पनि उही थियो । मनमोहन अधिकारी किन हो गर्मीमा पनि लङ कोट, सुइटर वा लामै बाहुला भएको सर्टमा देखिनुहुन्थ्यो ।

उहाँहरुको जीवनी, आत्मवृत्तान्त, अन्तर्वार्ता वा मञ्जुरीनामा आदि त्यस्तो कतै यो कुरा सार्वजनिक भएको छैन– ‘हाम्रो/मेरो निधनपछि हाम्रा नाममा संघसंस्था, प्रतिष्ठान आदि स्थापना गर्नु । जनताका अत्यावश्यक स्वास्थ्य शिक्षा आदिका नाममा व्यवसाय गर्नु र आम्दानी गर्नु ।’ तर, व्यवहारमा त्यस्तै देखिएको छ ।

हालै सार्वजनिक एक समाचारमा उल्लेख भएअनुसार विगत तीन वर्षमा गणेशमान, मनमोहन, मदन भण्डारी, मंगलादेवी सिंहका नाममा खोलिएका संस्थाहरुलाई काठमाडौं महानगरपालिकाले राज्यकोषबाट ८ करोडभन्दा बढी रुपैयाँ उपलब्ध गराएको रहेछ । प्रतिष्ठित राजनेताहरुको नाममा हुने दण्ड उन्मुक्तिको यो राज्यश्रोत दोहन काठमाडौं महानगरपालिका मात्र होइन, गाउँपालिकाको वडासम्मै फैलिएको छ । प्रतिष्ठित नेताहरुका नाममा बीचबीचमा तीज, नाचगान वा खानपिन, प्रशिक्षण र फेसन सो प्रबद्र्धन पनि मिसिँदा यो रकम दोब्बर हुनुमा आश्चर्य मान्नुपर्दैन ।

दिवंगत प्रतिष्ठित राजनेताहरुको नाममा स्थापित संघसंस्थाको नाममा राज्यको ढुकुटीमा ‘तर मार्ने’ अर्थात् मामाको धन, फुपूको श्राद्ध गर्नेहरुको कमी थिएन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले रत्न बान्तवाले प्राप्त गरेको सहादतका लागि उठाउनुभएको मुठ्ठी कसेको हात र झुकाउनुभएको शीरको हिसाबकिताब आफ्नै नाममा खोलेको प्रतिष्ठानलाई राज्यकोषबाट सर्प व्यवस्थापनका लागि लिनुभएको पहिलो किस्ता ७२ करोड रुपैयाँबाट चुक्ता गर्दै हुनुहुन्छ । अन्य दिवंगत नेताको तुलनामा खनालपथ धेरैका लागि अनुकरणीय यस कारण हुनसक्छ– यो उधारोमा होइन, हाताहातीमै छ ।

हिजोसम्म हाम्रा नेताहरु हामीलाई चाणक्य नीति, लिंकनको आदर्श वा हाम्रा अग्रजहरुको त्याग र बलिदानको उदाहरणहरु सुनाउनुहुन्थ्यो । अब ती उदाहरण उहाँहरुका लागि एकादेशका कथाजस्तै विस्मृतिमा हराइसके । त्यसैले यी उदाहरण अब हामीले हाम्रा नेताहरुलाई सुनाउन थालेका छौं तर नेताहरुको चरित्र आफूलाई सुधार्ने होइन, सिध्याउनेतर्फ अग्रसर छ । ज्यानलाई हत्केलामा राखेर सँगै देश र जनताको मुक्ति, हितका लागि हिँडेका एकै पेटका यी दुई टाउका वा धेरै टाउकाहरु अब एक–अर्काको रिसमा ‘विषवमन’ त गरिरहेकै छन् । सके एकले अर्कोलाई सिध्याउन विष सेवन नै गर्न पनि अग्रसर हुँदै छन् ।

अबका आदर्श उदाहरणहरु बा, दाजु वा दिदीहरुलाई रिझाउन सके को, कहाँ, कसरी पदोन्नति वा कारवाहीमा पर्छन्, प्रशस्त उदाहरण छन् । कृषिमन्त्रीबाट राजीनामा दिलाइएकी शैलजा आचार्य, आयल निगमबाट बहिर्गमन गराइएका लोककृष्ण भट्टराई, महाभियोगको तरबारले तर्साइएकी सुशीला कार्की सत्ताको कोपभाजनका शिकार भएका प्रमुख उदाहरण हुन् ।

युरोपको कुनै देशका राजकुमार वा प्रधानमन्त्री साइकल चढेर रेल्वे स्टेशन पुग्छन् । रेल चढेर कार्यालय जान्छन् । हाम्रा नेताले यस उदाहरणको चर्चा गर्नेहरुलाई मुँहतोड जवाफ दिनुभयो, ‘तिनका लागि महँगा सवारीसाधन नभएर साइकल र ट्रेनमा चढेका हुन् र ? ती त आफ्नै रहर र रमाइलो गर्न हिँडेका हुन् ।’

उहाँले यो चैं भन्नुभएन– ‘हामीकहाँ पनि रेल आओस्, सुरुङमार्ग बनोस् त, अनि देखाइदिन्छौं हामी के गर्दैनौं ?’ देशमा रेल चल्न थाले र सुरुङमार्ग बने भने के गर्नुहुन्छ, अहिले नै यकिन छैन तर अहिले उहाँहरुले सुविधासम्पन्न सवारी साधनहरुमा कालो सिसाभित्र कालै चस्मा लगाएर मध्यरात पनि शहरतिर हिँडेको कुरा चैं कमैलाई थाहा छ भन्छन् जासुसी पत्रकार मित्र । उनको स्पष्टीकरण छ, ‘यी एक जनाको पोल खोलेर आफ्नै पेशा कसरी बन्द गर्नु ? साराको पोल खोलिदिने सूचनाका स्रोत त उनै हुन् ।’

टिप्पणीहरू