तपाईंलाई झुक्याए के गर्नुहुन्छ श्रीमान ?

तपाईंलाई झुक्याए के गर्नुहुन्छ श्रीमान ?

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका सौगात रावतको नाममा रहेको जग्गा उनलाई पत्तै नदिएर अर्काको नाममा बेच्नेले जिल्ला अदालतबाट १ लाखदेखि ५ लाखसम्म धरौटीमा छुट्टी पाएका छन् ।

न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई धमाधम धरौटीमा छाडेको हो । मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म सरकारी सेवामा रहेका कर्मचारीलाई निलम्बन गर्नुको सट्टा धरौटीमा फुक्काफाल छाडिदिएको छ ।

यो आदेशसँगै आरोपित कर्मचारीलाई कार्यालयमा कामकाज गर्न बाटोसमेत खुलेको छ । यसअघि थाहै नदिएर अर्काको नाममा जग्गा बेचिदिएको आरोपमा १९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । उनीहरूमध्ये सहवीर कार्की मात्र थुनामा छन् भने बाँकी १८ जना धरौटीमा निस्केका छन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जाहेरीमा नेपाल सरकारले अभियोग पत्र दायर गरेको हो । जग्गा नामसारी गराउने कार्यमा संलग्न मुख्य आरोपी मानिएका सन्तोष ठाकुर पाँच लाख, गोरख बुढा र निर्मण पुरीलाई समान ३–३ लाख धरौटीमा रिहा गरिएको हो । उनीहरू तीनै जना पुसदेखि फरार थिए ।

कोरोना महामारीको समय पारेर अदालतले उनीहरूलाई १६ वैशाखमा बोलाएर धरौटीमा छाडेका पीडितले गुनासो गरेका छन् । जग्गा बिक्रीका लागि आवश्यक वडादेखि सबै निकायका सिफारिस किर्ते गरिएको पाइएको छ ।

मुख्य अभियुक्त मानिएका सन्तोष ठाकुरले जग्गा बिक्री गर्दा विभिन्न बैंकबाट रकम बुझेको समेत खुलेको छ । जग्गा नामसारीमा संग्लन कर्मचारीलाई निलम्बन वा सरुवासमेत नगरी त्यही कार्यालयमा कामकाज गर्न दिँदा उनीहरूले नागरिकलाई दिने सेवामा विश्वसनीयता नहुने पीडितको भनाइ छ । १९ जनाविरुद्ध मुद्दा दायर भए पनि प्रहरीले १० जनालाई मात्र पक्राउ गरेको थियो । उनीहरू पनि यसअघि नै छुटिसकेका छन् ।

जग्गा नामसारी गरेको आरोपमा तत्कालीन मालपोत कार्यालय सुर्खेतका प्रमुख तथा हाल मालपोत कार्यालय कलंकीमा कार्यरत लक्ष्मी खत्री, मालपोत कार्यालय हुम्लामा कार्यरत कमला सापकोटा, चिंगाड गाउँपालिका कार्यालय सुर्खेतमा कार्यरत कृष्ण थापा, मालपोत कार्यालय सुर्खेतका तीर्थबहादुर महतारा, नापी कार्यालय सुर्खेतका कार्यालय प्रमुख राजेन्द्र थापा, भीमलाल आचार्य, दीपेन्द्र पुलामीविरुद्व मुद्दा दायर भएको थियो ।

यसैगरी, वीरेन्द्रनगर–१३ गुप्तिपुरका ३० वर्षीय सुनील राना, वीरेन्द्रनगर–१२ नेवारेका ३३ वर्षीय उत्तम अधिकारी, चनौटेका ५० वर्षीय रामकुमार दर्लामी, वीरेन्द्रनगर–११ धुलियाविटका ३४ वर्षीय दीपेन्द्र श्रेष्ठविरुद्व मुद्दा परेको हो ।

वीरेन्द्रनगर–२ बांगेसिमलका ६८ वर्षीय सहवीर कार्की, वीरेन्द्रनगर–४ का ५७ वर्षीय नारायणबहादुर बुढाक्षेत्री, चिंगाड गाउँपालिका–५ घर भई हाल वीरेन्द्रनगर–१ गैरी बस्ने २५ वर्षीय चाँदनी वली, वीरेन्द्रनगर–११ पिपिरा बस्ने ३१ वर्षीय विश्वरूप सावत, वीरेन्द्रनगर–६ गणेशचोक बस्ने अम्मर सिंह कटुवाल, वीरेन्द्रनगर–२ बस्ने गोरख बहादुर बुढा भन्ने गणेश बुढा, वीरेन्द्रनगर–५ बस्ने निर्मल पुरी, वीरेन्द्रनगर–२ बस्ने सन्तोष ठाकुरविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

टिप्पणीहरू