ओली सरकार ढल्यो,तीन दलद्वारा सरकारमा दावी

ओली सरकार ढल्यो,तीन दलद्वारा सरकारमा दावी

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विश्वासको मत नपाएको कारण आज ढलेको छ । आजको मतदानबाट नेकपा एमालेका १ सय २१ जना सांसदमध्ये प्रधानमन्त्री ओलीसँग जम्मा ९३ जना र माधव नेपालसँग २७ सांसद रहेको स्पष्ट भएको छ ।

त्यसैगरी जसपाका महन्थ ठाकुरसँग १४ जना र राप्रपाका एक जना सांसद तटस्थ देखिए । विपक्षीले १ सय २४ मत मात्रै ल्याउन सकेकाले संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार बनाउन निकै कठिन देखिन्छ । यद्यपि शेरबहादुर देउवा,प्रचण्ड र उपेन्द्र यादवले आजै रास्ट्रपतिलाई ७६(२) अनुसारको सरकार बनाउन दिन पत्र लेखिसकेको स्थिति छ । नयाँ सरकार बनाउन कम्तिमा १ सय ३६ जना सांसद चाहिन्छ ।

आजको मतदानपछि अझै पनि निर्णायक शक्ति एमालेको माधव खेमा या सिङ्गो जसपा नै देखिएको छ । अब प्रधानमन्त्री ओलीले माधव नेपालनिकट समानुपातिकतर्फका ७ जना सांसदलाई फालेर नयाँ नियुक्त गरे पनि ९३ मा ७ थप्दा १ सय पुग्ने हो । तर,बैठकमा अनुपस्थित भएर विश्वासको मत नदिने प्रत्यक्ष निर्वाचित २० जना सांसदलाई के गर्ने ?

उनीहरूलाई हटाएर त्यो ठाउँमा उपनिर्वाचन गराउँदा पनि कम्तिमा छ महिना लाग्छ । कोरोना संक्रमणको कारण त्यो पनि अहिलेलाई सम्भव देखिँदैन । अर्कोतर्फ अहिलेको अवस्थामा उपचुनाव गर्दा ती सबै स्थानमा प्रधानमन्त्री ओलीनिकट उम्मेदवारले नै जित्छन् भन्ने ग्यारेण्टी पनि छैन ।

त्यसो हुँदा आफूलाई घाटा र विपक्षलाई नै फाइदा पुग्ने हुन्छ । आजको मतदानपछि राजनीति झन् पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री ओली लचिलो भएर अघि बढेको अवस्थामा एमाले सग्लो हुने सम्भावना अझै देखिन्छ । तर,सरकार भने धरापमै परेको छ । प्रधानमन्त्री ओलीलाई संसद विघटन गरेर चुनावमा जान पनि त्यति सहज देखिँदैन ।

सबैभन्दा रमाइलो पक्षचाँहि माधव नेपाल निकट सांसदहरूले प्रधानमन्त्रीको पक्षमा मतदान गरेकै भए पनि आवश्यक बहुमत नपुग्ने रहेछ ।

टिप्पणीहरू