शिलान्यास हुनासाथ तयार हुन्छ र अस्पताल ?

शिलान्यास हुनासाथ तयार हुन्छ र अस्पताल ?

– वैकुण्ठ ढकाल
स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर कोरोना संक्रमितको उपचारका लागि बेड छैन । अब स्थिति जे पनि हुन सक्छ भनिदियो । यसबाट सरकारको लाचारी र गैरजिम्मेवारी छर्लंग भएको छ । सरकारले केही दिनमा अर्को सूचना निकालेर अब कोही पनि संक्रमित हुन पाउँदैनौ भन्दिन सक्छ किनकि संक्रमित भएनन् भने त केही गर्नै परेन ।

सरकारले बेड अभाव भयो अब उपचार गर्न सकिँदैन भनेर हात उठाउने हो कि ? दिनरात काम गरेर अस्पताल बनाउने र बेड संख्या थप्ने हो । छिमेकी देश चीनले जस्तो १० दिनमा हजार बेडको अस्पताल बनाउन त नसकिएला तर भएका अस्पताललाई कोभिड अस्पतालको रूपमा रूपान्तरण गर्न केले रोकेको छ ? निजी अस्पताललाई कोरोनाको उपचारमा केन्द्रित गराए के हुन्छ ? सरकारको पहिलो काम भनेको त जनताको बाँच्न पाउने हक सुनिश्चित गर्नु हो । त्यो काम सरकारले गर्नै पर्छ । यो वा त्यो बहानामा पन्छन पाउँदै पाउँदैन । अब उपचार सम्भव छैन, जे गर्ने हो गर भन्दै नागरिकलाई आतंकित गरेर बस्न सुहाउँदैन ।

सरकारको यो कदमको प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायतले विरोध गरिसकेका छन् । नेपाल चिकित्सक संघले पनि सरकार नागरिकको उपचारको दायित्वबाट पन्छन पाउँदैन भनिसकेको छ । नेपालगञ्ज, भेरी अस्पतालका चिकित्सक र नर्स आफैं संक्रमित भएर पनि संक्रमितको उपचारमा अहोरात्र खटिरहेका छन् । तर, सरकार भने केही गर्न पनि सकिँदैन भनेर पन्छन सुहाउँछ ?

केही दिनअघि सञ्चारमाध्यमले कोरोना संक्रमितले अस्पतालमा बेड नपाउने अवस्था आयो भनेर समाचार सार्वजनिक गर्दा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले सरकारलाई असफल देखाउने कुप्रचार भनेर ओंठे जवाफ दिए । त्यसको केही दिनपछि स्वास्थ्य मन्त्रालयले नै विज्ञप्ति निकालेर गम्भीर संक्रमितका लागि पनि बेड उपलब्ध गराउन सकिँदैन भन्यो । स्वास्थ्यमन्त्रीले जेठ अन्तिममा कोरोना संक्रमण उच्च विन्दुमा पुग्छ ।

दुई तीन लाखभन्दा बढी संक्रमित हुन सक्छन् भनिसकेका छन् तर त्यो अनुसारको तयारी खै ? प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारको उपलब्धिका रूपमा एकै दिन तीन सयभन्दा बढी अस्पताल शिलान्यास गरेको बारम्बार भनिरहनुभएको छ । तर, ती अस्पतालको अवस्था के छ भनेर खोजी गरिएको छैन । हुन त प्रधानमन्त्रीले यसको पनि ओंठे जवाफ दिन सक्नुहुन्छ शिलान्यास हुनेबित्तिकै अस्पताल तयार हुन्छ ? हो समय लाग्छ, अस्पताल तयार हुन ।

कोरोना संक्रमणको दोस्रो लहरबारे पहिले नै आँकलन गरिएको थियो । विश्वका कतिपय देशमा कोरोनाको तेस्रो लहर शुरु भइसकेको छ । नेपालमा दोस्रो लहर चलिरहेको छ । पहिलो लहर शुरु भएको एक वर्षपछि दोस्रो लहर आयो । तर, नेपालमा पहिलो लहर आउँदा जे–जस्तो अवस्था थियो, अहिले पनि स्वास्थ्य पूर्वाधारको हालत उही छ । त्योभन्दा पनि खस्किएको होला, बढेको केही छैैन ।

प्रधानमन्त्रीले सबै नेपालीले तीन महिनाभित्र कोरोनाविरुद्ध खोप लगाउन पाउँछन् भनेको पनि तीन महिना पूरा भइसकेको छ । खोप कति नेपाली नागरिकले पाए त ? प्रधानमन्त्रीले आफूले बोलेका कति कुरा पूरा भए भनेर एकपटक फर्की हेर्नुभएको होला ? पक्कै पनि छैन । अरू बोलेका कुरा पूरा भए नभएको हेर्दै गर्नुहोला तर खोपको कुरा एकपटक सम्झिदिए हुन्थ्यो ।

सरकारका उच्चपदस्थ र जिम्मेवार पदमा आसीन व्यक्तिहरू नै देशभित्रकै बिचौलियाका कारण खोप आयात गर्न नसकिएको बताइरहेका छन् । तर, ती बिचौलिया को हुन् भनेर खुलाएका छैनन् । यसले त सरकार नै बिचौलिया हो र सरकारले नै खोप ल्याएको छैन वा ल्याउन बाधा गरिरहेको छ भनेर किन शंका नगर्ने ?

हुन त यो सरकारको सबैभन्दा ठूलो कमजोरी भनेको कसैको पनि कुरा नसुन्ने र आफू पनि केही नगर्ने नै हो । अघिल्लो वर्ष पनि सरकार कोरोनाविरुद्ध लड्ने एक मात्र उपाय लकडाउन र निषेधाज्ञा हो भनेर निदायो । अहिले पनि त्यसै गर्ने नियत देखिन्छ । छिमेकी देश भारतमा दैनिक चार लाखभन्दा धेरै संक्रमित भेटिन थालिसकेका छन् । नेपालमा पनि दैनिक संक्रमितको संख्या पाँच हजार नाघिसकेको छ । पछिल्लो समय नेपालगञ्ज, वीरगञ्जमा गरिएका पीसीआर परीक्षणमा ८० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

बागलुङमा गत शनिबार पीसीआर मेसिन जडान गरियो । पहिलो पटक ३० वटा परीक्षणमा २० वटा पोजेटिभ देखियो । यसले पनि संक्रमण भित्रभित्रै भुसको आगोझैं सल्किएको पुष्टि गरेको छ । मुस्ताङमा पनि संक्रमणले मृत्यु भइसकेको छ । यसले देशभर कोरोना संक्रमणको स्थिति भयावह रहेको नकार्न सकिने अवस्था छैन ।

यो महामारीबाट पार पाउन लरतरो प्रयासले सम्भव छैन । सरकारले केही गर्दैन भनेर नागरिकले पनि लत्तो छाड्नु हुँदैन । संक्रमित नहुन नागरिक आफैँ चनाखो हुनु आवश्यक छ । नागरिक संक्रमित हुनबाट जोगिन हरतरहको प्रयास गर्ने र कथंकदाचित संक्रमित भइहाले सरकारले उपचारको दायित्व लिनै पर्छ । किनकि नागरिकको ज्यानभन्दा ठूलो अरू केही हुनै सक्दैन ।

काठमाडौं उपत्यकामा सरकारले निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यकबाहेक सवारी साधनमा रोक लगाएको भनिएको छ । तर, सडकमा बाक्लो सवारी देखिन्छ । झट्ट हेर्दा सार्वजनिक यातायातका साधनबाहेक अरू सबै चलेजस्तो भान हुन्छ । कार्यालय समयमा त काठमाडौंका मुख्य–मुख्य चोक जाम नै हुने स्थिति छ । यसले निषेधाज्ञाभन्दा पनि अवज्ञा बढी भएजस्तो लाग्छ ।

धादिङमा चालकलाई मास्क खै भनेर सोधिँदा चालक घरमै छुटेको जवाफ दिइरहेका थिए । कोही च्यापुमा त कोही घाँटीमा झुण्ड्याएको मास्क देखाउँदै यी मैले त लगाएकै छु नि भनिरहेका थिए । मास्क नलगाउने जति दोषी छन् त्योभन्दा धेरै दोषी गलत तरिकाले लगाउने छन् । अत्यावश्यक काम नपरी घरबाट ननिस्कन सरकारले अपिल गरिरहेको छ । तर, कतिपय जनतालाई निषेधाज्ञामा बाहिर निस्केर ‘शान’ देखाउनु पर्नेछ । कतिपयलाई गैरपत्रकारलाई नक्कली कार्ड बनाएर ‘धक्कु’ लगाउनुपरेको छ । कतिपय सरकारी कर्मचारी भएको ‘रवाफ’ देखाउनुपरेको छ । वैशाख महिना विवाहको लगन छ, कतिपयलाई विवाहको ‘तडकभडक’ देखाउनु छ । त्यो तडकभडक र विवाहको शानले कसैको पनि सुुहागरात ‘भेन्टिलेटर’ मा मनाउनुपर्ने अवस्था नआओस् । विभिन्न बहानामा पास बनाएर दुरूपयोग गर्नेहरूले पास वा कार्डले कोरोना रोक्दैन भन्ने बुझेनन् भने आर्यघाटमा समेत जाममा पर्नुपर्ने स्थिति नआउला भन्न सकिन्न ।

अघिल्लो वर्षको कोरोनाले त केही गर्न सकेन, अहिले पनि केही गर्न सक्दैन भन्ने कसैले नसोचे हुन्छ किनकि यो पटकको कोरोना संक्रमणले निकै गाह्रो पार्नेवाला छ । अझै खतरा त यो पटक कोरोना संक्रमणबाट प्रभावित हुने ठूलो संख्यामा युवा छन् । बालबालिका पनि उत्तिकै प्रभावित भइरहेका छन् ।

एक पटक मरिहालिन्छ घुमेरै मरौं भन्ने नसोचौं । बाँचिरहे त संसार देखिन्छ भन्ने सबैले ख्याल गरौं, मनन गरौं ।

टिप्पणीहरू