केपी ओलीले सम्भव छैन भनिरहनुभयो

केपी ओलीले सम्भव छैन भनिरहनुभयो

– वामदेव गौतम
केही वर्षदेखि नेपालको राजनीति दुर्घटनाउन्मुख भएको छ । पहिले सत्ताधारी पार्टी नेकपाभित्रको राजनीतिक खिचातानीका कारण राष्ट्रिय राजनीति असहज बनिरहेको थियो । त्यस्तैमा गत साल पुस ५ गते प्रतिनिधिसभा भंग गर्ने र निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको निर्णयपछि नेकपाभित्रको सबै तुषहरु छताछुल्ल भएर सडकमा पोखियो ।

गत साल फागुन ११ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि पनि राष्ट्रिय राजनीतिले ठीक दिशा पक्रन सकेन । नेकपालाई विभाजन गर्ने प्रयत्न यसबीचको मुख्य विषय बन्यो तर निर्वाचन आयोगले पार्टी विभाजनलाई अनुमति दिन सकेन ।

अब यस किसिमको घटनाबाट नेकपा एमाले विभाजन भएर अर्को पार्टीले आकार लिँदैन भन्न सकिन्न । यस अवस्थामा एकता अभियानको औचित्य पनि समाप्त हुनेछ । त्यस्तो अवस्थामा हामीले पनि के गर्ने भन्ने सम्बन्धमा नयाँ निर्णय गरेर अगाडि बढ्नेछौं ।

त्यत्तिकैमा नेकपाको नाम सम्बन्धमा तीन वर्षपहिले सर्वोच्च अदालतमा परेको मुद्दाको फैसलामा पार्टी नै विभाजित गरी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि संघर्षले अर्को रुप लियो । त्यहीदेखि पहिले नेकपाभित्रको विवाद एमालेभित्र देखापर्यो । एमालेभित्र केपी ओली समूह र माधव–झलनाथ समूह बनेर प्रकट भयो ।

एमाले र माओवादी ब्युँतिनुपूर्व नेकपाभित्र प्रचण्ड–माधव एकातिर,अर्कोतिर केपी ओली समूह बनेर संघर्षरत भएका थिए । त्यही संघर्ष एमालेभित्र प्रकट भएको छ । नेकपा विभाजनमा गइरहेका बेला मैले कतै नलागी पुनः पार्टी एकता गराउन नेकपा एकता राष्ट्रिय अभियान नामबाट आफ्नो गतिविधि गरेको थिएँ ।

“अर्को पार्टी निर्माण गरेर जाने हो भने म पनि सामेल होऔंला तर एमालेकै नाममा समानान्तर गतिविधि गर्न म सक्दिन र यसमा मेरो सहयोग हुन सक्दैन भनेर जवाफ दिएको छु । “

पछि एकीकृत पार्टी ब्युँतिएर नेकपा (एमाले) प्रकट भएपछि त्यो एकता अभियान एमालेभित्र केन्द्रित गरियो तर अनेक प्रयत्न गर्दा पनि आजसम्म एमाले पुनःएकीकरण गराउन सकिएको छैन । आज वैशाख २७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने अवस्था छ । आजै बिहान मैले दुवैतर्फका नेताहरुलाई विचार पु¥याएर निर्णय गर्न अनुरोध गरेको छु तर दुवैतर्फबाट एकताको भावनाबमोजिम काम हुने अवस्था देखिएको छैन ।

केही दिनदेखि माधव नेपाल पक्षले विश्वासको मतमा फ्लोर क्रसभन्दा एमालेबाट राजीनामा गरी अर्को पार्टी निर्माण गर्ने चर्चा चलेको थियो । केपी ओलीको नेतृत्वमा रहन नसक्ने भएपछि एमालेकै नाममा समानान्तर कमिटी बनाउनुभन्दा राजीनामा गरी अर्को पार्टी निर्माण गरेर जानु उपयुक्त हुन्छ भन्ने सल्लाह दिएको थिएँ ।

अनेकपटक मलाई झलनाथ र माधव कमरेडले आफ्नो समूहमा सामेल हुन आमन्त्रण गर्दा अर्को पार्टी निर्माण गरेर जाने हो भने म पनि सामेल होऔंला तर एमालेकै नाममा समानान्तर गतिविधि गर्न म सक्दिन र यसमा मेरो सहयोग हुन सक्दैन भनेर जवाफ दिएको छु ।

यसबीच कैयनपटक मैले क. केपी ओलीलाई भेटेर पार्टी विभाजनउन्मुख भएकोले रोक्न अनुरोध गरें । रोकिने एउटा मात्र प्रभावकारी उपाय तपाईंले गर्नुभएको गत फागुन २८ गते पार्टी केन्द्रीय कमिटीको नाममा गर्नुभएका अवैधानिक निर्णयहरु सच्याउन २०७५ साल जेठ २ को अवस्थाको पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएर त्यहींबाट तपाईंले चाहेका निर्णय गराउन अनुरोध गरिरहे । उहाँले त्यो सम्भव छैन भनिरहनुभयो ।

त्यसपछि माधव नेपाललाई बोलाएर सहमत गराउन अनुरोध गरें तर उहाँले माधव नेपाल र समूहका अरु नेताहरुलाई कारवाही शुरु गर्नुभयो । आज त्यसैको परिणामस्वरुप माधव नेपाललगायतका कमरेडहरुले सामूहिक निर्णय गरेर विश्वासको मतमा अनुपस्थित हुने अवस्थाको चर्चा आएको छ ।

त्यसो भयो भने अब एमाले विभाजन पनि आजैदेखि शुरु हुने होला भन्ने मैले ठानेको छु । अब यस किसिमको घटनाबाट नेकपा एमाले विभाजन भएर अर्को पार्टीले आकार लिँदैन भन्न सकिन्न । यस अवस्थामा एकता अभियानको औचित्य पनि समाप्त हुनेछ । त्यस्तो अवस्थामा हामीले पनि के गर्ने भन्ने सम्बन्धमा नयाँ निर्णय गरेर अगाडि बढ्नेछौं ।

टिप्पणीहरू