गुण अप्ठ्यारोमा साथ,केपी ओलीको हात

गुण अप्ठ्यारोमा साथ,केपी ओलीको हात

नेकपा फुटाएर गुन लगाउने न्यायाधीश कुमार रेग्मीका दाजुलाई संवैधानिक निकाय लोकसेवाको अध्यक्ष नियुक्ति दिएकै शैलीमा अर्काे कर्मचारीले संवैधानिक आयोगको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री ओलीको ५ पुसको प्रतिनिधिसभा विघटनअगाडि सँसद अधिवेशन आह्वानको समावेदन पत्र बोकेर भीम रावल र पम्फा भुसाल शीतलनिवास पुग्दा छ घण्टासम्म मोबाइल अफ गरी गायब भएर प्रधानमन्त्री ओलीलाई सघाएवापत राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनाइएको छ ।

हिजो बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न निकायमा रिक्त २० जनालाई नियुक्त गरेको हो । जसअनुसार,लोकसेवा आयोगमा कपिलवस्तु स्थायी घर भएका माधव बेलबासे,पूर्व निर्वाचन आयुक्त वीरबहादुर राई, ललितपुरका दिनेश सिलवाल र महोत्तरीका मन्जुकुमारीले ठाउँ पाएका छन् ।

यस्तै अख्तियार दुरुपयोगमै राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य तथा कम्युनिस्ट नेता तुलसीलाल अमात्यकी बुहारी सुमित्रालाई नियुक्त गरिएको छ ।

निर्वाचन आयोगमा रुपन्देहीका सगुन समशेर जबरा परेका छन् भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा पाँचथरका विपिनराज निरौला र सुधाकुमारी झाको नाम सिफारिश भएको छ ।

महिला आयोगमा धनुषाकै जया घिमिरे र पर्वतकी सावित्राकुमारी शर्मा सिफारिस भएका छन् । दलित आयोगमा सुन्दर पुर्कुटी, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा.रामकृष्ण तिमिल्सिना र सदस्यमा पर्वतका पुष्पराज तिमिल्सिना,मानप्रसाद खत्री सिफारिस भएका छन् ।

आदिवासी जनजाति आयोगमा सूर्यबहादुर गुरुङ,मधेशी आयोगमा आभा कुमारी,थारु आयोगमा डा. उमाशंकर चौधरी र मुस्लिम आयोगमा मोहम्मद समसुल हक सिफारिस भएका छन् ।

टिप्पणीहरू