भालुको मन न हो सधैँ खन्यौमाथि

भालुको मन न हो सधैँ खन्यौमाथि

-पुरुषोत्तम पौडेल

उत्तमे तु क्षणं कोपो मध्यमे घटिका द्वयम् ।
अधमे स्यादहोरात्रं नीचेषु मरणान्तकः ।।’

चाणक्य नीतिले भन्छ । उत्तम खालका वा असल मान्छे केही क्षण मात्र रिसाउँछन् । मध्यम खालका मान्छे केही बेर अथवा १०/१५ मीनेटसम्म मात्र रिसाउने गर्छन् । अधम खालका मान्छे घण्टाँै अर्थात् २४ घण्टासम्म रिसाइरहन्छन् । तर नीच खालका अथवा तल्लो दर्जाका मान्छे बाँचुञ्जेलसम्म रिसाइरहन्छन् । रिसइवी राखी रहने मात्र होइन रिसइवी साँध्नका लागि गौंडा कुरेर बसिरहन्छन् । तसर्थ होसियार व्यक्तिले उत्तम र मध्यम खालका मानिससँग मात्र संगत गर्छन् । ख्याल गर्नै पर्छ कि आफूले संगत गरेको व्यक्ति कुन खालको छ ? कस्तो कुल र संस्कारवाट हुर्केर आएको छ ? अनि उसको चरित्र कस्तो छ ?

उहिले उहिलेका बूढापाकाहरूले भनेको ‘संगत गुनाको फल’ साँच्चै हो रहेछ । असल विचार र चरित्रको संगत गर्ने व्यक्तिले परिणाम पनि असल र सकारात्मक पाएको देखिन्छ । खराव व्यक्ति र चरित्रको संगतमा परेका हरूको स्वभाव र चरित्र सवै कुरा खराब हुदै गएको देखिन्छ । आज देशको परिस्थितिले पनि त्यही बताइरहेको छ । राजनीतिमा देखिएको गन्तव्यहीनता र चरित्रहीनताले त्यही भन्छ । देश र जनताले आशा गरेका कतिपय भविष्य बोकेका व्यक्तित्व पनि खराव संगतकै कारण धमाधम ढलिरहेको पाइन्छ ।

देशको नेतृत्व गरिरहेको नेकपा एमाले जस्तो राजनीतिक पार्टी अन्योलमा छ । सबैलाई समेटेर अघि बढ्नुपर्ने नेतृत्व एक्लै छटपटीमा रूमल्लिएको देखिन्छ । विचार र विधिका आधारमा चलेको लोकतान्त्रिक पार्टी निजी आग्रहको आधारमा उफ्रिरहेको छ । जनताबाट अनुमोदित र जनतामा आधारित कार्यकर्ताको क्रियाशील पार्टी आज सीमित नेताहरूका प्रालिजस्तो भएको छ । स्वच्छ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरेर अघि बढ्नुपर्ने कम्युनिष्ट पार्टी जालझेल र तिकडम अनि छलकपटबाट चल्न खोजिरहेको देखिन्छ । सिद्धान्त र विचारको पर्याय बनेर जनताबीच लोकप्रिय बनेको हाम्रो प्रिय पार्टी आज गुण्डा र झल्लाहरूको हालिमुहाली देखेर छक्क परिरहेको छ । यो सबै पार्टीमा विस्तारै अधम खालका तत्वहरूको पकड र नेतृत्वमा रहेको त्यस्तै खालको चाह र चरित्रको परिणाम होला ।

आफ्नो कुर्सी सुरक्षित राख्न लुकाई लुकाई पार्टी एकताको नाटक गरेको देखियो । कुर्सी जोगाउनकै लागि संसद् विघटन गरेको पनि देखियो । कुर्सीको बचाउ गर्नकै लागि पार्टी एकता भाँडेर छुट्टीभिन्न भएको हेरियो । लकडाउनको बेला अर्काको पार्टी फुटाएर आफ्नो सरकार बलियो बनाउने भन्दै महोत्तरीदेखि सांसदहरू पोको पारेर ल्याएको पनि देखियो । कहिले पार्टी फुटाउने अध्यादेश ल्याएर वितण्डा मच्चाइयो । हुँदाखाँदाको दुई तिहाइको प्रतिनिधिसभा विघटन गरेर, आफ्नै पार्टी फुटाएर बालुवाटारमा रमाइलो नाचगान गरेको पनि हेरियो । अहिले आफैँ बहुमत पु¥याउन रोई कराई गर्दै महन्थ ठाकुरको पछि लागेर हिँडेको पनि देखिँदै छ । कोरोनाको दोश्रो भेरियन्टले मुलुक र आम जनतालाई आतंकित गरिरहेको बेला विश्वासको मत लिने भन्दै संसद् आह्वान गरेको सुनिँदै छ ।

गज्जवको कुरा । नियमित अधिवेशनको समय भइसकेको छ । बजेट अधिवेशनको समय छ । नियमित अधिवेशन बोलाएर समस्यालाई सकारात्मक ढंगले हल गर्न साझा प्रयास गर्नुपर्ने बेला फेरि चुनावमा जान वातावरण बनाउने खेल शुरु भएको छ । ‘भालुको मन खन्युमाथि’ भनेजस्तो राम्रो काम गरेर आमजनताको मन जित्नुपर्ने समयलाई खुराफात र जालझेलमा बिताउने काम भइरहेको छ । केवल संसद् विघटनको औचित्य पुष्टि गर्न मुलुकलाई बेमौसमी चुनावतिर धकेल्ने छलकपटपूर्ण प्रयास गरिँदै छ । यो सबै खराव संगतको परिणाम त हुँदै हो । त्योभन्दा पनि कसैमाथिको रिसइवी साँध्ने सोच र चिन्तनको परिणाम हो । सधैँ आग्रह र रिसइवी बोकेर हिँड्ने शासकसँग दक्षिणको संगत बढेदेखि नै गडबडी र बर्बादी हुँदै आएको छ ।
कर्णाली प्रदेशमा एउटा अविश्वासको नाटक मञ्चन भयो । त्यो नाटक आफैँमा असफल भयो । फेरि अर्को समर्थन फिर्ता लिने नाटक भयो । विश्वासको मतमा फ्लोर क्रस गर्ने चटक भयो । सबै अस्थीरता र अराजनीतिका खुराफाती खेल हुन् । बहुदलीय प्रणालीमा सरकार आउँछन् जान्छन् । कहिले बहुमतको सरकार बन्छ, कहिले अल्पमतको बन्ला । कहिले मिलीजुली सरकार बन्छ, कहिले आलोपालो सरकार बन्ला । प्रमुख कुरा देश र जनताको सेवा हो । जनताको विश्वास र दलको जनमुखी भूमिका हो । देश र जनताप्रतिको कर्तव्यबोध र जिम्मेवारीको कुरा प्रमुख हो । जनताको आशा र विश्वासलाई कायम राख्ने र समाजलाई अघि बढाउने कुरा प्रधान हो । आफू र आफ्नो दलीय स्वार्थ केन्द्रित भएर मात्र पनि हुँदैन । हामी त आफ्नो स्वार्थभन्दा अलिकति पनि माथि उठ्न सकेका देखिएनौँ ।

गण्डकी प्रदेशमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव आयो । त्यसलाई राजनीतिक रूपले प्रदेश सभामा फेस गर्न नसकिने कुरा थिएन । हामी त ‘ बनको बाघले खाओस्, नखाओस् मनको बाघले खाने’ ठाउँमा पुग्याँै । आफ्नो सफल सरकारले ३ –३ वर्ष गरेको काम र विधिको आधारमा सरकारको बचाऊ गर्न छाडेर अरू पार्टीको सभासद् अपहरण गर्ने ठाउँमा पुग्याँै । सत्ता र शक्तिको दुरुपयोग गर्दै कोरोना भएको रसिद बनाएर प्रदेश सभामा मतदानकै बेला जबर्जस्ती जनमोर्चाका सभासद्लाई अस्पताल भर्ना गराई सरकार जोगाउनुपर्ने ठाउँमा पुग्यौँ । यस्तो ’कर्म’ कुनै असल शासनमा हुने कुरा हो र ! निश्चय पनि होइन । हामी विस्तारै खराब संगतमा पुगेकाले सत्कर्मबाट श्रेष्ठता हासिल गर्ने कुरा बिर्सेर गन्दगी जम्मा गर्ने ठाउँमा पुगिसकेका छाँै । अधम र अलि निच खालका व्यक्तिको भीडमा थुप्रिँदै गएकाले असल शासनका गुणवत्ताहरू भुल्दै गइरहेका छौँ । बढी से बढी हामी प्रतिशोधी भैरहेका छौ ।

हालसाल मात्र लुम्बिनी प्रदेशमा भएको नाटकको कुरा गरिसाध्य छैन । आफैँले प्रदेश सभाको विशेष अधिवेशन बोलाएर बैठक नगरी अन्त्य गर्नु आफैँमा जायज होइन होला । अझ राजीनामा गर्नु थियो त प्रदेश सभामा गर्दा झन् राम्रो हुन्थ्यो होला । कति गज्जवको कुरा छ । सरकार अल्पमतमा परेको भन्दै नैतिकताका आधारमा राजीनामा दिने । त्यसको एक घण्टा बित्न नपाउँदै एकल बहुमतको सरकारका रुपमा मुख्यमन्त्रीको नियुक्ति लिने काम भयो । भनिँदै छ प्रदेश सभामा विपक्षीहरूको बहुमत छ । सरकार अझै अल्पमतमा छ ! अल्पमतमा रहेको सरकारले पुनः शपथ खाने कामसमेत भयो । यो सब कताबाट र केको छटपटीमा भइरहेको छ ! यही हो सत्तामोहको चरम नमुना । अनि संगत गुनाको फल पनि । सत्ताको चास्नी मज्जा । अनि खराब संगतको परिणाम । जबदेखि नेतृत्वको वरिपरि गोयलहरूले गोलचक्कर लगाउन थाले यस्ता घटना भइरहेका छन् । जबदेखि जयशंकरहरू बालुवाटारमा घुम्न थाले समस्या शुरु हुन थाले । पुर्खाको पालादेखि सत्य साबित भएको उखान फेरि ताजा भयो । संगत गुनाको फल । लहै साथी हो । मौकामै सोचौं र आफूलाई सच्याऔँ । उत्तम र मध्यम खालका मानिससँग मात्र संगत गरौँ ।

टिप्पणीहरू