नेशनल सुपर लिगको प्लेअफमा काठमाण्डौँ

नेशनल सुपर लिगको प्लेअफमा काठमाण्डौँ

चितवन एफसीमाथि जित निकाल्दै काठमाडौं रेजर्स तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्ले अफमा प्रवेश गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक एक गोल गरे भने चितवनका राजिव लोप्चनले सान्त्वना गोल फर्काएका थिए ।

पराजयसँगै चितवन जारी प्रतियोगितामा जितविहीन हुँदै बाहिरिएको छ । ६ खेलबाट २ खेलमा मात्र बराबरी खेलेको चितवनले बाँकी सबै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको हो । काठमाडौंलाई अग्रता निकाल्ने क्रममा १७ औं मिनेटमा मेसौके ओलोमोउले गोल गरेका थिए ।

३४ औं मिनेटमा संजोक राईले गोल गर्दै काठमाण्डौंलाई २–० को अग्रता दिलाए । विश्वास श्रेष्ठको पासमा चितवनका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा संजोकले गोल गरेका थिए ।

खेलको ४० औं मिनेटमा राजिव लोप्चनले गोल गर्दै चितवनलाई २–१ को स्थितिमा ल्याए । सुनिल श्रेष्ठको प्रहार काठमाडौंका गोलकिपर विनायक श्रेष्ठले रोकेपछि आएको रिबाउन्डमा राजिवले गोल गर्दै अग्रता घटाएका थिए ।

८१ औं मिनेटमा काठमाडौंका प्रिजेन तामाङले गोलकिपरसँगको वान भर्सेस वानमा गोलको अवसर गुमाए । प्रिजेनको कडा प्रहार चितवनका गोलकिपर रोमन रसाइलीको टाउको लाग्दै बाहिरिएको थियो । ८४ औं मिनेटमा पनि प्रिजेन गोल गर्न चुके ।

खेलमा काठमाडौंका तेज तामाङ प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका विश्वास उदास चुनिँदै नगद १० हजार प्राप्त गरे ।

जीतसँगै काठमाडौंले ६ खेलमा १३ अंक जोड्यो । अब काठमाडौंले प्ले अफमा दोस्रो स्थानको धनगढी एफसीसँग खेल्नेछ । अर्को प्ले अफमा ललितपुर सिटीले बुधबार बुटवल एफसीसँग खेल्नेछ । काठमाडौं र धनगढीबीचको खेल मंगलबार हुनेछ । उक्त खेलको विजेता फाइनल पुग्नेछ ।

उक्त खेलमा पराजित हुने टोलीले बिहीबार ललितपुर र बुटवल लुम्बिनीबीचको विजेतासँग फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नेछ ।

टिप्पणीहरू