दीपक मनाङ्गे नायक नभएर बुद्ध बन्छ त !

दीपक मनाङ्गे नायक नभएर बुद्ध बन्छ त !

– पुरुषोत्तम लम्साल

शास्त्रले बोल्ने सत्य के हो भने सफा मान्छेले राजनीति गरे त्यो दूषित हुँदैन । नाली र पानीको अलगअलग अस्तित्व हुन्छ । पानीमा नाली मिसिए त्यो फोहोर हुन्छ, नालीमा पानी मिसिए पनि त्यो फोहोर नै हुन्छ । पानीको मात्रा बढी हुँदा राजनीतिले राजनीतिको मूल्य प्राप्त गर्ने हो । जब राजनीतिमा नालीको मात्रा, प्रभाव, आयतन जबरजस्त स्थापित हुँदै जान्छ तब राजनीति फोहोर हो र राजनीति गर्ने सबै फोहोरी हुन् भन्ने मान्यता स्थापित हुन्छ । राजनीति र व्यवस्था पूरक हुन् भने त्यस्तो अवस्थामा मूर्खले मात्र सग्लो र सङ्ग्लो व्यवस्थाको परिकल्पना गर्छ ।

पछिल्लो साता पात्रको रूपमा राजीव गुरुङ उर्फ दीपक मनाङ्गे र व्यवस्थाको रूपमा कर्णाली, गण्डकी हुँदै लुम्बिनीको राजनीतिक दृश्यचित्र केन्द्रमा रहे । प्रजातन्त्रको, लोकतन्त्रको, जनतन्त्रको वा गणतन्त्रको जे भने पनि यी दुई पात्र र प्रवृत्तिले आदर्श राजनीतिको हुर्मत लिए र लिन्छन्, सिद्धान्तनिष्ट राजनीतिक चरित्रको दोहोलो काढ्छन् र राजनीतिको आधारभूत चरित्रको कत्लेआम गर्छन् । हामीले अभ्यास गरिरहेको राजनीति र व्यवस्थाका यी विद्रुप दृश्यले हामी कति नालीमा छौं र कति पानीमा छौं भन्ने तथ्य बोल्छन् ।

राजनीतिक सस्कार करिमा बेगम र मातृका यादवको दिनेले मनाङ्गेमाथि प्रश्न उठाउदा घीन मान्न पर्दैन ?

हामीले एउटा खराब व्यवस्थाविरुद्ध संघर्षको आँधी ल्यायौं । भलै त्यो त्यही खराब व्यवस्थाका मठाधीशहरूसँग सम्झौतामा टुंगियो, त्यो उदार र सुधारको एउटा बिन्दू त निःसन्देह थियो । तर, अफसोच के भइदियो भने व्यवस्थाको रूप मात्र फेरियो चरित्र फेरिएन । जनताले वा जनमतले ज–जसलाई दोषी करार गरेका थिए, जनताविरुद्ध अपराध गरेको ठहर गरेका थिए ती दोषी नयाँ व्यवस्थामा ताण्डव नाच्न आइपुगे । र, नयाँ व्यवस्थाका पहरेदार दावी गर्नेहरू तिनैको आरती उतार्ने तहमा झरे ।

जनआन्दोलनको बलमा स्थापित जनार्दनलाल मल्लिक नेतृत्वको आयोगले दोषी करार गरेकाहरूलाई उतिबेलै ठिंगुरामा हालेर परिवर्तनको बिगुल बजाइदिएको भए हामीले नालीयुक्त दूषित व्यवस्थाविरुद्ध अर्को संघर्षको खाँचो तत्काल देख्न पर्दैनथ्यो । पञ्चायतभित्रका राष्ट्रिय अराष्ट्रिय गिरोहलाई, शरत्सिंह भण्डारी, नवराज सुवेदी, कमल थापादेखि पशुपतिसमशेर जबरासमेतलाई कानुनतः पाता फर्काउन सकेको भए नयाँ व्यवस्थाको सानै सही अभ्यास र अनुभूति त गर्न पाउँथ्यौं । भयो के ? परिवर्तनले अपराधी करार गरेकाहरूलाई शासन, सत्ता र व्यवस्था सुम्पने बिरलाकोटी देश भयो हाम्रो । हामी यस्तो प्रजातन्त्रको भोक्ता भयौं जहाँ अपराधको सातखत माफ हुन्छ । हामी यस्तो परिवर्तनका द्रष्टा भयौं जहाँ राजनीति शनैःशनैः अपराधको बुई चडेर अट्टहास हाँस्छ र दण्डहीनताको फाइदा उठाएर अपराधले राजनीतिको लगाम समात्छ । अपराधलाई राजनीतिको लगाम सुम्पने कार्यभार परिवर्तनका नायकहरूले नै पूरा गरेका हुन् । यही बिन्दुबाट दीपक मनांगेहरू व्यवस्थाको नायकको रूपमा उदाउने हुन् ।

खराब सपनाजस्तो लाग्ने अर्को नियतिको पनि साक्षी हौं हामी । त्यो के भने प्रजातन्त्रको माग राखेर आन्दोलन हुँदा पनि कमल थापा प्रवृत्तिविरुद्ध नारा लगायौं र गणतन्त्रको पक्षमा मोर्चा कस्दा पनि तिनै प्रवृत्तिविरुद्ध गगन गुञ्जियो । मल्लिक आयोगको प्रतिवेदन त नयाँ सत्ताले ‘बिरालोले बिष्टा लुकाए झैं’ लुकायो र आन्दोलनको मर्म नै बलात्कार गर्‍यो । अर्को नाथे क्रान्तिले पनि त्यही अभ्यास र शैली अपनायो । अस्ति ‘यो पञ्चहरूको पनि जीत हो’ भन्ने गिरिजाप्रसाद कोइरालाले हिजोको आन्दोलनले दोषी करार गरेकाहरूलाई कारबाही गर्न इन्कार गरे । कोइरालाले ‘सुरक्षाकर्मीको मनोबल खस्कने भएकाले कारबाही गर्न नहुने र नसकिने’ बताएर रायमाझी आयोगको प्रतिवेदन नै धोती लगाइदिए । र, पुष्पकमल दाहाल प्रचण्ड तिनै ‘क्रान्तिवीर’ हुन् जसले ज्यानमुद्दा चलाउनपर्ने व्यक्तिको काँधमा फुली थप्दै गए र दोषीहरूका छाती पदक र तक्माले सुशोभन गर्ने यज्ञ निरन्तर गरे । अनि यो व्यवस्थामा दीपक मनांगे नायक नभए अरु को नायक हुन्छ?

चौध सय पृष्ठमा वर्णित व्यवस्थाको मार्गचित्रको पहिलो बलात्कार त्यहीं भएको थियो । राज्यले त्यहाँ उल्लिखित दुई सय अनुहारलाई पालैपालो पाता कसिदिएको भए राजनीतिबाट, प्रशासनबाट, न्यायालयबाट छाडातन्त्र, अराजकता र अपराधको टेकोमा अडेको व्यवस्थाको दबदबा हुने नै थिएन । अपराधले घृणा नपाउने र अपराधीले सम्मान पाउने व्यवस्थामा यो वा त्यो रूपमा दीपक मनाङेहरूकै नायकत्वमा राजनीति अघि बढ्ने हो ।

राजनीतिक अराजकताले राजनीतिक सिद्धान्तलाई विस्थापन गर्दा के हुन्छ ? त्यही हुन्छ जुन हामीकहाँ भइरहेको छ, हुँदै आएको छ । राज्य कमजोर हुँदा राजनीतिमा अपराधको र अपराधमा राजनीतिको घुलन तीब्र हुन्छ । र, यो तीव्रताले सिद्धान्त र विचारको धारलाई जगदेखि नै खण्डित गर्छ । हामी अपराधको संरक्षण गरेर राजनीतिक वर्चस्व खोज्ने वा स्थापित गर्ने र राजनीतिक आवरणमा अपराधजनित अभ्यास बलियो बनाउने दुष्चक्रमा निरन्तर घुमिरहेका छौं ।

भ्रष्टाचारी ठहर भई सजायँ भोगेर कारागारबाट बाहिर आउँदा सत्तहातको फूलमालाले अपराधको देवत्वकरण गर्ने हाम्रै समाज हो । ज्यानमुद्दामा दण्ड पाएर उम्किएको ब्यक्तिले राजनीतिक मूलधारमा राजनीतिक निर्मलीकरणको पाठ पढाउँदा ताली बजाउने हाम्रै समाज हो । यो समाजले राजनीतिमा दीपक मनांगेहरूलाई नायक नबनाएर कहाँ बुद्ध जन्माउँछ?

अवैध धन्दालाई लिखितम र बकितम दुबैमा सहमति जनाएर मनांगे प्रवृति संस्थागत गर्ने बाबुराम भट्टराईहरूलाई यहाँ मनाङे मन्त्री हुँदा लाज लाग्छ । दर्जनौं फौजदारी मुद्दा एकै कित्तामा फिर्ता गर्दा भट्टराईलाई गणतन्त्र दुख्दैन, मनाङे मन्त्री हुँदा चित्त फाट्छ । सम्पत्ति शुद्दिकरणका फाइलहरू दम्पच बनाएर अपराधलाई राजनीतिमा घोल्ने कांग्रेसले दीपक मनाङे मन्त्री हुँदा किन छिछि दूरदूर गर्नु, गौरको खरानीबाट जसको आत्मा र प्राण उठेको छ तिनले दीपक मनांगेलाई व्यवस्थासँग जोडेर टिप्पणी गर्दा कस्तो होला ? जो युथफोर्स चलाउँछ, जो वाइसिएल चलाउँछ, जो तरुणलाई बलपूर्वक राजनीति गर्नपर्छ भन्छ, जो रक्षा बाहिनी चलाएर प्रतिकारको राजनीतिलाई पूट दिन्छ तिनले बिचार र सिद्धान्तको दुहाई दिएर दीपक मनांगेमाथि चोरऔंला उठाउँदा गज्जब लाग्छ । राजनीतिक संस्कार करिमा बेगम र मातृका यादवको दिनेले मनांगेमाथि प्रश्न उठाउँदा घीन मान्न पर्दैन ? हे व्यवस्थाका मठाधीश हो, दीपक मनांगेलाई निर्णायक नायक बनाउने अरु होइनन् तिमीहरू नै हो ।

सामाजिक मनोविज्ञान कसरी विकसित हुँदै छ भने आपराधिक गतिविधिमा संलग्न ब्यक्ति नै सफल राजनीतिको कारक हुन्छ । चल्तीको आहानले भन्छ, हरेक सफल पुरुषको पछाडि महिलाको योगदान हुन्छ । नवीन अभ्यासले भन्छ, सफल राजनीतिको पछाडि अपराध वा कानुनतः अपराधीको हात हुन्छ । यही आहानको जगमा उभिएर दीपक मनांगेहरू व्यवस्थाका नायक हुन्छन् । भ्रष्टाचारी ठहर भई सजायँ भोगेर कारागारबाट बाहिर आउँदा सत्तहातको फूलमालाले अपराधको देवत्वकरण गर्ने हाम्रै समाज हो । ज्यानमुद्दामा दण्ड पाएर उम्किएको ब्यक्तिले राजनीतिक मूलधारमा राजनीतिक निर्मलीकरणको पाठ पढाउँदा ताली बजाउने हाम्रै समाज हो । यो समाजले राजनीतिमा दीपक मनाङ्गेहरूलाई नायक नबनाएर कहाँ बुद्ध जन्माउँछ ?

परलोक नसुधारेका भए दिनेश अधिकारी उर्फ चरी र कुमार श्रेष्ठ उर्फ घैंटे पनि राजनीतिका उदीयमान तारा थिए । बेथितिको प्रकाशमा तिनले पनि समाजलाई हाम्रो राजनीतिको, समाजको औकात देखाइदिएकै थिए । गणेश लामा वा राजीव गुरुङ त राजनीतिको प्रतिनिधि पात्र मात्र हुन् यो आलोकमा मनोज पुनदेखि परशुराम बस्नेतसम्म, सुकबहादुर तामांग उर्फ बाघेसम्म आलोकित हुन्छन् । राजनीतिक दलका मुखियाहरूको गाँसवासको स्रोत जब बाघे, बाहुन्, गोर्खाली, चक्रेलगायतबाट हुन्छ त्यो व्यवस्थामा मनांगेहरू नायक हुनलायक हुन्छन् ।

रत्नाकर र अंगुलीमालले दिएको शिक्षा हाम्रो व्यवस्थाका नायक राजीव गुरुङ उर्फ दीपक मनाङेको हकमा पनि लागू होस् । जदौ !

टिप्पणीहरू