कोरोनाको समस्या छैन भनेर प्रधानमन्त्रीले झूठ बोलेको दाबी

कोरोनाको समस्या छैन भनेर प्रधानमन्त्रीले झूठ बोलेको दाबी

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिन जनता समाजवादी पार्टी (जसपा) लाई आग्रह गर्नुभएको छ ।

वर्तमान सरकारबाट मुलुकलाई पुग्ने क्षतिबाट बचाउन अलमल नगरी प्रधानमन्त्री ओलीको विपक्षमा उभिन उहाँले जसपालाई आग्रह गर्नुभएको हो । महतले नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा बैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भोलि प्रतिनिधिसभामा पेश गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको काँग्रेसले आफ्नै नेतृत्वमा बैकल्पिक सरकार निर्माणको पहल गरिरहेको छ । यसका लागि विपक्षी गठवन्धनका सबै दलहरुसंग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले सहयोग गर्ने निर्णय गरिसकेको महतले बताउनुभयो ।

नेता महतले कोभिड नियन्त्रण तथा रोकथामका लागि सरकार पूर्णरुपमा असफल भएको पनि बताउनुभयो । कोभिड १९ संक्रमणको भयावह अवस्थामा पनि प्रधानमन्त्री ओलीले नेपालमा संक्रमण नियन्त्रणमा छ भनेर विश्वसामु झुटो बोलेको उहाँको टिप्पणी छ ।

‘हिजो प्रधानमन्त्री ओलीजीले सिएनएनलाई अन्तर्वार्ता दिने क्रममा कोभिड अन्डर कन्ट्रोल छ भनेर बोल्नुभएको छ । योभन्दा झुटो कुरा अर्को हुन सक्तैन । अहिले कोभिड संक्रमण बढ्दै छ र सरकार उदासिन छ भन्ने स्पष्ट नै छ । वीर अस्पतालमा १ हजार बेड तुरुन्तै सुनिश्चित गर्ने भनेको,अरु ठाउँमा पनि भनेको अहिलेसम्म अगाडि बढ्न सकेको छैन’,महतले भन्नुभयो ।

उहाँले संक्रमितको प्रभावकारी ढंगले उपचारको व्यवस्था गर्न तथा आवश्यक मात्रामा अक्सिजनको सुनिश्चितता गर्न सरकारसंग माग गर्नुभयो । महामारी नियन्त्रणका लागि सरकारले चालेका हर कदमलाई कांग्रेसले साथ दिने पनि महतको भनाइ छ ।

टिप्पणीहरू