अदालतको त्यो आदेश र आजको यो नियुक्ति

अदालतको त्यो आदेश र आजको यो नियुक्ति

फेरि अर्का एक जना झापालीले अर्काे महत्वपूर्ण जिम्मेवारी भेटेका छन् । एक महिनाअगाडि जनआस्थाले लेखेको (२०७७ चैत्र १८ गते बुधबार,बर्ष २७,अङ्क ४- शीर्षक “पैंचो तिर्नुहोला त प्रधानमन्त्रीले ?” ) समाचारलाई पुष्टि गर्दै आज बिहान बसेको संवैधानिक परिषद बैठकले झापाली माधव रेग्मीलाई लोकसेवा आयोगमा अध्यक्षको जिम्मेवारी दिएको हो ।

उनी सर्वाेच्चका न्यायाधीश कुमार रेग्मीका साख्खै दाइ हुन् । कुमार खाँटी हिन्दूवादी,खुमबहादुरको हिन्दूवादी लाइनअन्तर्गत काङ्ग्रेस केन्द्रीय सदस्यका उम्मेदवार,प्रधानमन्त्रीकै गृहजिल्ला गौरादहको धिमधिमे टोलका स्थानीय, उनकै फैसलाले सिंगो कम्युनिष्ट पार्टीलाई दुई चिरा मात्र बनाएन नेकपा एमाले व्युताँएर त्यसको ताला चाबी ओलीलाई नै सुम्पिदियो । सोही गुनको बदलामा दाजु माधवले संवैधानिक निकाय लोकसेवामा नियुक्ति पाएको चर्चा निजामती र न्याय क्षेत्रमा चल्न थालेको छ ।

लोकसेवा आयोगमा अध्यक्षसहित ६ पद,निर्वाचन आयोगमा २ आयुक्त रिक्त रहेकोमा पूर्व आयुक्त वीरबहादुर राईलाई नियुक्ति दिइएको छ ।अख्तियारमा २ आयुक्त रिक्त रहेमध्ये यौटामा गुप्तचर विभागका पहिलाका हाकिम दिलिप रेग्मीलाई लगिएको छ ।

जनआस्थाको समाचारमा लेखिएको थियो- “सरकार अहिले ‘अ‍ैँचोपैँचो’ तिर्न कति व्यस्त छ भने,सर्वोच्च अदालतले प्रधानमन्त्रीको चाहनाबमोजिम नेकपाको एकता भंग गरिदिएको ‘पैँचो’ स्वरुप एउटा संवैधानिक पद भुक्तान नगरी भएको छैन ।

अघिल्लो सातादेखि पदाधिकारीविहीन लोकसेवा आयोगको अध्यक्षका रुपमा अहिले निकै चर्चामा छन्,पूर्वेली पूर्वसचिव माधव रेग्मी । फागुन २३ गते सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई साविकको एमाले र माओवादी केन्द्रकै रुपमा रहन आदेश दिएको ‘पैँचो’ स्वरुप अहिले लोकसेवाका लागि माधवको नाम चर्काचर्कीसँग उठेको बताइन्छ । उक्त आदेश न्यायाधीश कुमार रेग्मीको बेञ्चबाट दिइएको थियो । र, माधवचाहिँ कुमारका साख्खै दाजु हुन् । तर,प्रशासनविज्ञहरू भन्छन्, ‘यस्तो पदमा माधवलाई लगिनु सरासर अनैतिक काम हुन्छ ।’ कारण हो,उनी सचिवका रुपमा लोकसेवामा रहँदा निकै विवाद र सन्देहको घेरामा थिए । आम्दानी हुने अंगहरूमा मात्र सक्रिय हुने गरेको आरोप उनीमाथि छ । त्यसमाथि उनी शुध्द कांग्रेसी,त्यो पनि ‘कालो’ । उसो त हालै निवृत्त लोकसेवा अध्यक्ष उमेश मैनाली पनि कांग्रेसकै कोटामा नियुक्त भएका थिए । अहिले पनि देउवालाई मनाउने नाममा माधवलाई त्यता पठाउने दबाब हुनसक्छ । तर,माधवबाहेक कांग्रेसमा राम्रा रिटायर्ड प्रशासक थुप्रै छन् । ४१ वर्ष जागिर खाने दौरान लोकसेवामै पनि काम गरेको,बेलायत गएर कानूनसम्बन्धी अध्ययन गरेका कारण आफूबराबर उपयुक्त पात्र नभएको भन्दै माधव हिँड्न थालेका छन् । सचिवका रुपमा त्यहाँ रहँदा गोप्य शाखालाई बिगारेर पैसाको पछि लागेको चर्चा अहिले पनि लोकसेवामा चल्ने गरेको छ । उनी गृहका क्याडेट हुन्, केही समय संघीय मामिला, सतर्कता केन्द्र र रक्षा सचिव पनि चलाए । त्यतिबेला उनलाई लोकसेवामा सिफारिस गर्नेमा एमालेका ठूलै नेता पनि थिए ।

निबृत्त भएका अध्यक्ष उमेश मैनाली कांग्रेस पृष्ठभूमिका भए पनि सिष्टम बसाल्नुपर्छ भन्ने स्वभावका थिए । उनले आफ्नो कौशलता प्रदर्शन गरेको एउटा घटना हो,भ्रष्ट इञ्जिनियर रामआधार साहको सरुवा । उनी अनियमितताको आरोपमा निलम्बनमा परेका थिए । सामान्य प्रशासन मन्त्री थिए,केशवकुमार बुढाथोकी । रामआधार लोकसेवाको सहमतिबेगर जागिरमा बहाली भए । मन्त्रीले उमेशलाई फोन गरे । उमेशले लिखित आयो भने प्रशासनतर्फ सरुवा गर्ने, नत्र नगर्ने भने । सामान्यले चिठी पठायो । तर, मैनालीले परामर्शका लागि मन्त्रिपरिषद्को चिठी खोजे । अनि, केशवले क्याबिनेटको निर्णय भनेर आफैँले सही धस्काई चिठी पठाए । जबकि यो प्रशासनिक प्रचलन विपरितको काम हो । मन्त्रिपरिषद्को निर्णय पठाउने सचिवले हो, मन्त्रीले हैन ।

लोकसेवाको पदाधिकारीमा सचिवबाट अवकास पाएकामध्ये पनि प्रशासनिक विषयमा स्वच्छता कायम गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ । अहिले त्यहाँको पदाधिकारी बन्ने सम्भाव्यमा पहिला चारतारे हुँदै पछि एमाले भएका केदार अधिकारीदेखि राजन खनालहरूसम्म छन् । राजनले लामो समय सामान्य प्रशासन र अर्थ मन्त्रालय चलाए । अहिले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक छन् । यस्तै, त्यहाँका पदाधिकारीको आकांक्षीमा राजश्व सचिवबाट हालै अवकाश पाएका रामशरण पुडासैनी पनि हुन सक्छन् ।

टिप्पणीहरू