कोरोना लागेका माननीयले पनि भोट हाल्न पाउने

कोरोना लागेका माननीयले पनि भोट हाल्न पाउने

संसद सचिवालयले कोरोना पोजिटिभ देखिएका सांसदहरुलाई पनि प्रतिनिधिसभाको मतदान प्रक्रियामा सहभागी गराउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि भोलि बोलाइएको संसद बैठकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सांसदहरुलाई मतदानमा सहभागी गराइने सचिवालयले जनाएको छ ।

कोरोना संक्रमण देखिएका सांसदहरुलाई कसरी मतदान प्रक्रियामा सहभागी गराउने भनेर तयारी र छलफल भैरहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेले कोरोना लागेका सांसदहरुलाई पनि मतदानको अधिकारबाट बन्चित गराउनु हुन्न भन्ने सैध्दान्तिक कोणबाट छलफल भैरहेको बताउनुभयो । त्यसैका लागि छलफल गर्न आज दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । उहाँका अनुसार समितिको बैठकले त्यसबारे ठोस निर्णय गर्नेछ ।

‘कोरोना देखिएका माननीयज्यूहरुलाई पनि मतदानको प्रक्रियामा सहभागी गराउनुपर्छ भन्ने सैद्धान्तिक सहमति छ । प्राविधिक तयारी कसरी मिलाउने भन्ने विषयमा छलफलपछि निर्णय हुन्छ’,उहाँले भन्नुभयो ।

अहिलेसम्म सरकारका चार मन्त्रीसहित दर्जनौँ सांसदलाई कोरोना संक्रमण देखिएको छ । एमाले बरिष्ठ नेता झलनाथ खनाल,जसपा नेता तथा सँसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण,सांसदहरु किसान श्रेष्ठ,सरिता न्यौपाने, डा.दिपकप्रकाश भट्टलगायत करिब तीस जना सांसदलाई कोरोना लागेको बताइएको छ । संसद सचिवालयका एक उपसचिव कृष्ण खनालको कोरोना संक्रमणकै कारण अस्ति मृत्यु भएको थियो ।

पहिले नै १४ जना माननीय कोरोना पीडित भएकोमा हिजो पार्वता बिसी चौधरी,नरमाया ढकाल,रामबाबु यादव,सुरेशकुमार राई,पुष्पा कर्ण कायस्थ,लेखा समिति सभापति भरतकुमार शाह, प्रमोद साह,नीराकुमारी साह र महेश बस्नेत पनि संक्रमितको सूचिमा थपिनुभएको छ ।

त्यस्तै,प्रधानमन्त्रीका निजी सचिव इन्द्र भण्डारी,प्रेस सल्लाहकार सूर्य थापा,संसद सचिवालयका १९ जना सुरक्षाकर्मी,६ जना मर्यादापालक र बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका ४ जना कर्मचारीमा पनि कोरोना देखिएको छ ।

टिप्पणीहरू