एमालेको एकता प्रयास असफल,आज २२ साँसदको राजीनामा

एमालेको एकता प्रयास असफल,आज २२ साँसदको राजीनामा

नेकपा एमाले खनाल-नेपाल पक्षले अध्यक्ष केपी ओलीसँग गरिएको पार्टी एकताको प्रयास असफल भएको निश्कर्ष निकालेको छ । हिजो शनिबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको बिल्डिङमा सो समूहका नेताहरुको बैठकले अध्यक्ष ओली तयार नहुँदा पार्टी एकता प्रयास सफल नभएको ठहर गरेको हो ।

दिउँसो १४:३५ देखि साँझ साढे आठ बजेसम्म बसेको बैठकले ओली नसुध्रिने निश्कर्ष निकाल्दै अन्य विकल्पको बारेमा छलफल गरेको एक नेताले बताए ।

नेपाल समूहले पार्टी नछोड्ने तर संसदीय प्रकियाबाट भने बाहिरिने निर्णय गरेको बताइएको छ । ती नेताका अनुसार फ्लोर क्रस गर्दा राजनैतिक नैतिकताको प्रश्न उठ्ने भएकाले सांसदहरुको सामुहिक राजीनाको विकल्प रोज्ने निचोड निकालिएको हो ।

“अदालतको फैसलाले पार्टी,चुनाव चिन्ह र पार्टी कार्यालय जेठ २ को अवस्थामा फर्किने तर महाधिवेशनबाट निर्वाचित कमिटी नफर्किने ओलीको तर्क आएपछि एकताको सम्भावना पूर्णत: अन्त्य भएको नेपाल समूहको ठहर छ ।”

बैठकले पछिल्लो तीन दिनको अवधिमा ओली पक्षसँग भएको सहमतिको पटक–पटक प्रयास र अन्य नेताहरुसँग गरेको छलफलको समीक्षा पनि गरेको थियो । ओली आफ्नो अडानमा टसमस नभएको र कुनै हालतमा जेठ २ मा फर्कन तयार नभएपछि सहमतिको सम्भावना लगभग सकिएको नेपाल समूहको निश्कर्ष छ । यसबारे आज बस्ने स्थायी कमिटी बैठकले औपचारिक निर्णय गर्ने ती नेताले बताए ।

घनश्याम र योगेशको अन्तिम प्रयास असफल

बैठक बस्नुअघि उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भटराई अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भएको छलफलमा मिलनबिन्दु भेटिनु भन्दा पनि थप तिक्ततापूर्ण भएपछि दुवै नेता बाहिरिएका थिए । अदालतको फैसलाअनुसार जेठ २ मा फर्किएर पार्टीलाई एकतावद्ध बनाउन आफूहरुले राखेको प्रस्ताव ओलीले ठाडै अस्वीकार गरेको उनीहरुले बैठकलाई ब्रिफिङ गरेको बताइन्छ ।

ओलीले नेपाल समूहसँग कुनै सम्झौता नगर्ने र फागुन २८ को निर्णयबाट पछि नहट्ने बटमलाइन सुनाएको भुसाल र भट्टराईले बैठकलाई जानकारी गराए । अदालतको फैसलाले पार्टी,चुनाव चिन्ह र पार्टी कार्यालय जेठ २ को अवस्थामा फर्किने तर महाधिवेशनबाट निर्वाचित कमिटी नफर्किने ओलीको तर्क आएपछि एकताको सम्भावना पूर्णत: अन्त्य भएको नेपाल समूहको ठहर छ ।

ओलीले नेपाल समूह नआए पनि फरक नपर्ने आशयको कुरा राखेपछि नेता भुसाल र भट्टराई निराश भएर फर्किएको बताइन्छ । ‘४० वर्षदेखि सहकार्य गरेका हामीलाई निकालेर भर्खरै पार्टीमा छिरेका रामबहादुर थापा, टोपबहादुरहरुलाई च्याप्ने उहाँको प्रष्ट अडान देखियो’,एक नेताले भने, ‘हामीलाई उहाँको कमजोरी थाहा छ,हामीबाट आलोचना हुन्छ भन्ने उहाँमा त्रास देखिन्छ । बरु एसम्यान बन्न तयार हुनेहरुको झुण्ड खडा गरेर आत्मरति लिने दिशामा उहाँ देखिएपछि पार्टी सिङ्गो राख्ने हाम्रो प्रयास सफल नहुने निश्चितजस्तै देखियो ।’

ती नेताका अनुसार जेठ २ मा फर्किन कुनै हालतमा तयार नभएपछि पदाधिकारी भनेपनि नहटाउन गरेको प्रस्ताव पनि ओलीले स्वीकार गर्नुभएन । नवौँ महाधिवेशनले निर्वाचित गरेको पदाधिकारी स्वीकार नगर्ने ओलीको पटक-पटकको अडानले हैरान भएको उनको भनाइ छ । महाधिवेशनमा निर्वाचित पदाधिकारी फर्काउँदा आफू अल्पमतमा पर्ने भएपछि ओली तर्किएको उनको बुझाइ छ ।

एमालेको २०७१ साल असार १९ देखि २४ गतेसम्म भृकुटीमण्डपमा सम्पन्न नवौं महाधिवेशनमा अध्यक्षतर्फ ओलीसंग जम्मा ४५ मतले माधव नेपाल पराजित हुनुभएको थियो । महासचिवमा सुरेन्द्र पाण्डे जम्मा ६ मतले ईश्वर पोखरेलसँग हार्नुभएको थियो । त्यस्तै ५ जना उपाध्यक्ष (युवराज ज्ञवाली,भीम रावल र अष्टलक्ष्मी शाक्य) र सचिवमा (योगेश भट्टराई,गोकर्ण बिष्ट र भीम आचार्य ) नेपालतिर छन्,प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ्ग ओलीपट्टिका हुन् । २ उपमहासचिवमा घनश्याम भुसाल माधवतिर र हालका अर्थमन्त्री बिष्णु पौडेल ओलीको साथमा छन् ।

यी हुन् सामुहिक राजीनामा दिने नेपाल पक्षका २२ सांसद

आज दिनभर अन्तिम प्रयास गर्ने र सहमति नजुटे सामुहिक राजीनामा बुझाउने गरी नेपाल समूहले सांसदहरुको हस्ताक्षर तयार गरेको छ । राजीनामा दिने २२ सांसदले हस्ताक्षर गरेर नेता नेपाललाई बुझाइसकेको बताइएको छ । आज १३ बजे बस्ने स्थायी कमिटी बैठकले निर्णय गरेपछि पत्रकार सम्मेलन गरेर राजीनामाबारे जानकारी गराउने नेपाल समूहको तयारी छ ।

झलनाथ खनाल,माधवकुमार नेपाल,भीम रावल,सुरेन्द्र पाण्डे, घनश्याम भुसाल,योगेश भट्टराई, गोकर्ण बिष्ट,कृष्णलाल महर्जन, विरोध खतिवडा,गणेश पहाडी, दीपकप्रसाद भट्ट,भवानीप्रसाद खापुङ,जयकुमार राई,पवित्रा निरौला,नारायण खतिवडा, जीवनराम श्रेष्ठ,हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे,मेटमणि चौधरी, झपट रावल,यज्ञराज सुनुवार र राजबहादुर बुढाले राजीनामा पत्रमा हस्ताक्षर गरेको स्रोतले बताएको छ ।

जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा जस्तै देशैभरि ओलीविरोधी गठवन्धन बनाउने विपक्षीको तयारी छ । ‘सकभर अझै पनि फुटबाट पार्टीलाई जोगाउनुपर्छ भन्ने हाम्रो कुरा हो । हुँदै भएन भने एउटा विकल्प त दिन्छौँ’, नेपाल पक्षका एक साँसदले भने ।

खिमलाल देवकोटा मोडलमा देशैभर गठवन्धन बनाएर ओलीलाई सबक सिकाउने तयारीमा नेपाल समूह जुटिसकेको दाबी गरिएको छ । पहिलो चरणमा जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रियसभा निर्वाचनमा ओली पक्षका उम्मेदवार रामबहादुर थापाविरुद्धको विपक्षी गठवन्धनमा नेपाल समूहका डा. खिमलाल देवकोटालाई अघि सारिएको छ ।

यहि गठवन्धन कायम राख्दै जेठ १७ गते लुम्बिनीबाट हुने (चन्द्रबहादुर खड्का,अर्घाखाँची) राष्ट्रिय सभा निर्वाचन र अन्य उपनिर्वाचनमा जाने सहमति भएको बताइएको छ । लुम्बिनी प्रदेशको तर्फबाट जेठ १७ हुने राष्ट्रियसभा निर्वाचनमा केही दिनअघि मात्र एमालेबाट प्रत्यक्ष निर्वाचित प्रदेशको सांसद पद छाडेर कांग्रेस प्रवेश गरेका दीर्घनारायण पाण्डेलाई खडा गर्ने विपक्षी गठवन्धनको तयारी छ । विपक्षी गठवन्धनले नेपालसहितको छलफलमा उम्मेदवार फाइनल गरेको बताइएको छ ।

टिप्पणीहरू