सुरक्षा फौजमा अक्सिजन छैन,ठूला सामाजिक संस्थाहरू बेपत्ता

सुरक्षा फौजमा अक्सिजन छैन,ठूला सामाजिक संस्थाहरू बेपत्ता

अन्यत्रझैँ सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा पनि अक्सिजन अभाव देखिएको छ । स्रोतका अनुसार त्यहाँ आजसम्मलाई पुग्ने अक्सिजन मात्रै छ । रातिसम्म पर्याप्त ग्याँस नआए भोलिदेखि के गर्ने भन्ने चिन्तामा अस्पताल प्रशासन पुगेको छ ।

अक्सिजनको दुरुपयोग भएको आशंकामा प्लान्टमा सुरक्षार्थ प्रहरी खटाउने निर्णय सरकारले यसअघि नै गरेको छ । तर,केही ठाउँमा सशस्त्र प्रहरीसमेत खटाउन थालिएको छ ।

ललितपुर चाल्नाखेलको प्लान्टबाट सशस्त्रले खरिद गर्दै आएको अक्सिजनको निरीक्षणमा आजदेखि सशस्त्रले आफ्नै सुरक्षाकर्मी खटाउने भएको छ । प्लान्टले रातको समय अन्यत्र सप्लाई गरेको बुुझिएपछि सशस्त्रले निगरानी बढाउन लागेको स्रोतको दाबी छ ।

नेपाल जेसिज, रेयुकाई,लायन्स र रोटरी क्लबलगायत थरिथरिका पदाधिकारीहरू अहिले गुमनाम भएका छन् ।

काठमाडौं उपत्यकाभित्र चाल्नाखेलबाहेक ललितपुरमा तीन वटा,ककनी,भक्तपुर र काठमाडौंमा गरी आठ वटा ग्याँस उत्पादक कम्पनीहरू छन् । कतिपय ठूला अस्पतालले आफैँ उत्पादन गर्छन् । यति हुँदा पनि राजधानीमा अक्सिजन अभाव देखिएको छ । त्यसको साथै बेड, डाक्टर,नर्सलगायत उपचारमा आवश्यक सबै कुराको अभाव छ ।

अहिलेको महामारीमा राज्य जिम्मेवार नबनेको स्वयम् सुरक्षा निकायले पनि महसुस गरेको बताइन्छ । निर्देशन दिने तर दायित्व नलिने प्रवृत्तिले परिस्थिति भयावह बनेको हो ।

त्यसैगरी अरु बेला समाजसेवाको नाममा सामाजिक सञ्जाल रंगाउनेहरू अहिलेको अवस्थामा बेपत्ता छन् । ठूला होटलमा कार्यक्रम गर्ने नेपाल जेसिज, रेयुकाई,लायन्स र रोटरी क्लबलगायत थरिथरिका पदाधिकारीहरू अहिले गुमनाम भएका छन् । लाखौं खर्चेर विदेश घुम्ने,अनेक नाउँमा समाज सेवा गर्नेहरूलाई अहिलेको कहालीलाग्दो समयमा बत्ति बालेर खोज्नुपर्ने भएको छ ।

अर्कोतर्फ बालबालिका,महिला, एकल महिला,अपाङ्ग, बृद्धबृद्धालगायत विभिन्न नाममा खुलेका गैरसरकारी संस्था पनि महामारीमा सहयोगको नाममा कहिँ देखिएका छैनन् । अघिल्लो वर्ष केही मास्क बाँड्ने र भात बाँड्ने धेरैजसो पनि सेलाइसकेका छन् ।

राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताले भूकम्पमा ब्यानर लिएर राम्रै काम गरेका थिए । तर, अहिले उनीहरू पनि घरभित्र मीठो मसिनो बनाएर खाने र टिकटकमा रमाउँदै सामाजिक सञ्जालमा राजनीति गरिरहेका भेटिन्छन् ।

यता,सर्वत्र बेड अभाव हुँदा सरकारले अभाव नरहेको विज्ञप्ति जारी गरेको छ । तर,विज्ञहरूले सिकिस्त बिरामीलाई आवश्यकता परेको बेला फोन गरेपछि बेड पाउने एकीकृत प्रणाली लागू गर्नुपर्ने बताएका छन् । कहाँ कति बेड खाली छ,सो को नोटिस निकाल्ने र बिरामीले नाम टिपाएपछि प्रविधिको प्रयोग गरेर सिस्टमअनुसार आवश्यक व्यक्तिको लागि क्युमा बस्ने व्यवस्था मिलाउन ढिलो भइसकेको छ ।

अहिले आम सर्वसाधारणमा बेड र अक्सिजन अभावबारे नकारात्मक धारणा गएकोतर्फ बेलैमा ध्यान नदिने हो भने भोलि यहि विषयले उग्र रुप लिनसक्ने बताइन्छ ।

टिप्पणीहरू