स्टासेफमा रेम्डिसिभिरको स्टिकर टाँस्ने पक्राउ

स्टासेफमा रेम्डिसिभिरको स्टिकर टाँस्ने पक्राउ

स्टासेफ नामक औषधीमा रेम्डिसिभिरको नक्कली स्टिकर टाँसेर बढी मूल्यमा बिक्री गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१० अशोक चोकका २६ वर्षीय सोनु आलम र सोही महानगरपालिका–१६ रानीका २३ वर्षीय श्रवणकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

आलमले महानगरपालिका–४ स्थित साथी मेडिकल औषधी पसलमा स्टासेफ नामक औषधीमा रेम्डिसिभिरको नक्कली स्टिकर टाँसी बढी मूल्य राखेर बिक्री गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।

आलमको पसलबाट स्टासेफ नामक औषधी ४ सिसि र रेम्डिसिभिर १ सिसि बरामद गरेको प्रहरीले जनाएको छ । उनले स्टासेफ ९० रुपैयाँमा खरिद गरी ८ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । उक्त औषधीमा टाँस्ने स्टीकर भारतको पटनाबाट आयात गरी ल्याइएको हो ।

नक्कली औषधी बिक्रि गर्ने काममा श्रवणकुमारको समेत संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनकै घरबाट
पक्राउ गरेको बताएको छ ।

विराटनगर महानगरपालिका–११ बसपार्क नजिक रातोभाले होटलमा १० ग्राम ब्राउनसुगर बरामद भएको घटनामा समेत यादव संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका दुवै जनामाथि कालोबजार तथा सामाजिक अपराध तथा सजाय ऐन,२०३२ कसूरअन्तर्गतको कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

टिप्पणीहरू