महामारीका निर्णय,राजदूतको ओबिनार र गुरु भट्टराईको रेल कहानी

महामारीका निर्णय,राजदूतको ओबिनार र गुरु भट्टराईको रेल कहानी

प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता एकाएक गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी शर्मिला त्रिपाठीलाई हटाउने सिफारिश गरेको एकाध घण्टामै अरु दुई जनालाई शीतल निवासले शपथ खुवायो ।

राजनीतिक उतारचढाव बढिरहेको बेला भएका विभिन्न निर्णयलाई हेर्दा प्रधानमन्त्री ओलीले राजनीतिक मूल्य,मान्यतामा न्यूनतम न्याय पनि नहुने गरी बर्खास्ती,नियुक्ति र थमौती गरिरहनुभएको देखिन्छ ।

तत्काल गरिएको पदपूर्तिको निर्णयका बान्कीबाट उहाँले लामो समयदेखि निष्ठाको राजनीति गर्दै आउनुभएका वामपन्थी नेता अमिक शेरचन र शहिद तथा बेपत्ता विद्यार्थी नेता ज्ञानेन्द्र त्रिपाठीकी पत्नी शर्मिलालाई राजनीतिक प्रतिशोध साँध्नुभएको प्रतित हुन्छ । तर, उहाँले ‘बा’ भनेकै आधारमा म्यानपावरवाली शर्मिला ढकाल र शेरबहादुर देउवासँगको विशेष सम्बन्धका कारण सासू प्रतिभा राणालाई ओमान र जापानमा म्याद सकिँदा पनि पुनः अनिश्चितकालसम्म राजदूतको जिम्मेवारी सम्हाल्न निर्देशन दिनुभएको छ ।

संवैधानिक कानूनका ज्ञाताहरू भन्छन् ‘राजदूत पद संसदीय सुनुवाईमार्फत नियुक्त गरिने भएकाले तोकिएको अवधिको लागि मात्र वैध हुन्छ । त्यसो नगरी थप अवधिको निम्ति नियमित गर्नु गैरसंवैधानिक हुन्छ ।’

उनै ढकाललाई कतिसम्म च्यापिएको छ भन्ने जान्न गत हप्ता राजदूतहरूको ओबिनार छलफललाई लिन सकिने परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् । झापा आन्दोलनमा जेल परेका कतारका लागि नेपाली राजदूत नारद भारद्वाज,त्यसैगरी हाल युएइमा राजदूत रहेका परराष्ट्रका सहसचिव कृष्ण ढकाल,दुर्गा भण्डारी(कुवेत),इजरायलका लागि राजदूत अन्जान शाक्य, जमानाका विद्यार्थी नेता तथा युवा संघका त्यतिबेलाका महासचिव भएर अहिले मलेशियामा राजदूत रहेका उदयराज पाण्डेलाई मिलाएर शर्मिलाले मध्यपूर्वबाट कोरोनामा श्रोत,साधन परिचालन गर्न ओबिनार छलफलको संयोजन गरेकी थिइन् ।

यता,महामारीमा पनि झापाली र पाएसम्म दमकका मान्छेलाई नियुक्ति दिलाउन प्रधानमन्त्री ओली सक्रिय देखिनुभएको छ । हालै त्यहि फर्मुलाअन्तर्गत काठमाडौं उपत्यका प्राधिकरणमा जानुका ढकाललाई नियुक्त गरिएको छ । राष्ट्र बैंकमा डेपुटी गभर्नर दुवै जनालाई दुई महिना अघि झापाली नाताको प्राथमिकता दिइएको थियो ।

प्रधानमन्त्री ओलीको फ्यान भएपछि नियुक्ति लिएपनि काम गर्न नपर्नेमा देखिएका छन् नेपाल रेल्वेका महाप्रबन्धक गुरु भट्टराई । आठ महिनादेखि रेललाई दुलहीलाई झैँ घुम्टो हालेर राखिएको छ तर,भट्टराई फेसबुकमा एमालेका अन्य नेता तथा कार्यकर्ताको हुर्मत लिनेगरी स्टाटस लेख्नमै व्यस्त छन् ।

रेल चलाउने भनियो तर न कानुन छ,न त्यसका लागि उपयुक्त कर्मचारी । कानुनचाँहि राष्ट्रिय सभामा अन्तिम अवस्थामा अड्किएर बसेको छ । संसदको लठिभद्र पाराले त्यो ऐन पनि अड्केको अड्क्यै छ । बरु,अरु अध्यादेशको सट्टा रेलसम्बन्धी अध्यादेश बेलैमा ल्याएको भए कम्तिमा प्रधानमन्त्रीको सपना त पूरा हुन्थ्यो !

एकजना सांसदले भने,‘बरु पानीजहाज,रेलको लागि बेलैमा अध्यादेश ल्याउनु नि,संवैधानिक नियुक्तिको अध्यादेश ल्याइएको छ । त्यत्रो पैसा खर्च भइसकेको छ । अब केहि समयपछि बिग्रेर कवाडी भयो भने करोडौं रुपैयाँ स्वाहा हुनेछ ।’

टिप्पणीहरू