तरकारीको व्यापार सर्लक्कै घट्यो

तरकारीको व्यापार सर्लक्कै घट्यो

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि देशभर लगाइएको निषेधाज्ञाका कारण तरकारीको व्यापारमा भारी गिरावट आएको छ । निषेधाज्ञाका कारण मानिसहरुको हिंड्डुल खुम्चिएपछि तरकारीको बजार पनि खुम्चिएको हो ।

देशकै सबैभन्दा ठूलो तरकारी बजारका रुपमा परिचित कालिमाटी तरकारी बजारमा ५० प्रतिशतले व्यापार घटेको छ । निषेधाज्ञा जारी हुनुअघि दैनिक झण्डै ९५० मेट्रिक टन तरकारी भित्रिने गरेकोमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रिको कारोबार र मूल्यमा पनि गिरावट आएको छ । सर्वसाधारणलाई हिंड्डुल गर्न रोक लगाउनुका साथै तरकारी खरिद बिक्रिका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमि आएको समितिको भनाइ छ ।

समितिका सहायक कार्यकारी निर्देशक अर्जुनप्रसाद अर्यालले अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको जानकारी दिए । स्थानीय तहसंगको समन्वयमा जुनसुकै समय तरकारी ल्याउन सकिने व्यवस्था मिलाएको पनि उनले बताए ।

वि.सँ. २०५२ सालदेखि कालिमाटीमा तरकारी बेच्दै आएका व्यापारी शिवकृष्ण खड्कीले हरियो तरकारी समयमै बेच्न नसक्दा कुहिने भएकाले तरकारी खरिद बिक्रिका लागि समय निर्धारण गरिनु गलत भएको बताए । निषेधाज्ञापछि हरियो तरकारीको मूल्यमा ५० प्रतिशतले कमि आएको भन्दै उनले मूल्य घटेपनि व्यापार नबढेको बताए ।

यसैबीच,समितिले कोभिड महामारीबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पालनामा सहजीकरणका लागि सचेतनामूलक अभियान शुरु गरेको छ । विभिन्न जानकारीमूलक सूचना प्रकाशन, माईकिङ गरेर भीडभाड नगर्न अनुरोध गर्ने,दूरी कायम गर्न सचेत गराउने जस्ता सन्देशमूलक काम गर्दै आएको समितिले जनाएको छ ।

टिप्पणीहरू