दुई जना बोक्न सिङ्गै जहाज

दुई जना बोक्न सिङ्गै जहाज

कोरोना संक्रमण व्यापक बढेपछि सबैतिरका हवाइ उडान बन्द गरेको नेपालले छिमेकी भारततर्फ खुलै राख्ने निर्णय गर्दा अनेक आशंका गरिए । विश्वमै कोरोना संक्रमणको उच्च जोखिममा रहेको देशसँगको हवाई सम्पर्क यथावत राखिएपछि सरकारी निर्णयको आलोचना पनि भयो ।

सरकारले भारतमा रहेका नेपालीलाई फर्काउने उध्देश्यले उडान चालू राखेको अनुमान गरिएको थियो । तर,भारतबाट हवाईमार्ग हुँदै काठमाडौँ झर्नेको संख्या लगभग शून्य अवस्थामा रहेको नेपाल एअरलाइन्स स्रोतको भनाइ छ ।

नेपाल एअरलाइन्सको आगामी हप्ताको दिल्ली-काठमाडौँ फ्लाइटमा अहिलेसम २ जना पनि नहुने अवस्था रहेको स्रोतले बताएको छ । ‘एअर इन्डिया र नेपाल एअरको फ्लाइटमा दुई जना पनि प्यासेन्जर नहुने देखिएको छ’, स्रोतले भन्यो ।

१० दिनसम्म होटेलको क्वारेन्टाइन बस्नुपर्ने, पिसिआर टेष्टको रिपोर्ट बुझाउनु पर्ने र कोभिड प्रोटोकल अनिवार्य मान्नुपर्ने भएकाले हवाई मार्गबाटआउनेको संख्या घटेको अनुमान गरिएको छ । सडकमार्गबाट आउँदा सामान्य चेकजाँच गराएर प्रवेश गर्न पाउने हुँदा माथिबाट आउनेहरु पनि त्यता डाइभर्ट भएको बताइन्छ ।

‘त्यसोभए किन हवाइसेवा बन्द नगरेको त ?’ भन्ने प्रश्नमा स्रोत भन्छ, ‘भारतबाट औषधि ल्याउनुपर्ने भएकाले फ्लाइट बन्द नगरिएको हो । फ्लाइट बन्द गरेपछि औषधि ल्याउन पाइँदैन । रेगुलर औषधी ल्याउनुपर्ने अवस्था छ । चीन पट्टिको पनि खुला गर्नेबारे कुरा भैरहेको छ ।’

चीनले दिएको औषधी र अक्सिजन ११ तारिखसम्ममा काठमाडौँ आइपुग्ने बताइएको छ । त्यसका लागि सम्भवत: भोलि नेपाल एअरको एउटा विमान चीनतर्फ उड्नेछ । ल्हासामा अड्किएको सामान पनि नेपाल एअरकै विमानमार्फत ल्याउने तयारी भैरहेको बताइन्छ ।

टिप्पणीहरू