कोरोनाकै कहरवीच थप नियुक्ति

कोरोनाकै कहरवीच थप नियुक्ति

अस्पतालमा आइसियु वार्डदेखि अक्सिजन नपाएर दैनिक ५० हाराहारी सर्वसाधारणले ज्यान गुमाउँदैछन् । तर सरकार प्रमुखको ध्यानचाहिँ आफ्ना मान्छे नियुक्ति गर्नेतिरै केन्द्रित छ ।

बिहिबार प्रधानमन्त्री ओलीको दौडधुप देख्दा लाग्थ्यो मुलुकमा केही कायापलट हुने निर्णय हुँदैछ । एमाले स्थायी कमिटी बैठक चल्दाचल्दै शीतलनिवास पुग्नुभएको थियो । बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक डाकियो ।

सो बैठकमा सहभागी एक मन्त्रीका अनुसार,सो बैठकबाट कोरोना सङ्क्रमणका विषयमा केही छलफल र निर्णय भए । उनका अनुसार अक्सिजन प्लान्ट जडान गर्ने बिषयमा पनि छलफल केन्द्रित रह्यो ।

सो बैठकले राष्ट्रिय किसान आयोगका अध्यक्षसहित सबै पदाधिकारी नियुक्त गरेको छ । ती मन्त्रीले जनआस्थालाई सुनाए अनुसार,किसान आयोगको अध्यक्षमा प्रेम दंगाललाई नियुक्त गरिएको छ । एमाले विभाजनपछि ओलीले उनलाई अखिल नेपाल किसान महासङ्घ अध्यक्षको जिम्मेवारी दिनुभएको छ ।

दंगाल यसअघि युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष थिए । यस्तै सदस्यहरुमा जीवन्ती पौडेल, सूर्यप्रसाद खनाल,मञ्जु धिमाल, टेकबहादुर बोगटी र पुष्पा भुसाल नियुक्त भएका छन् ।

टिप्पणीहरू