वायुपँखी घोडा चढ्दा बादललाई लाग्दैन निर्वाचन आचारसंहिता ?

वायुपँखी घोडा चढ्दा बादललाई लाग्दैन निर्वाचन आचारसंहिता ?

शक्ति र सत्तामा बस्नेहरुलाई ऐन, कानुन केही लाग्दैन ? प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहालले गृहमन्त्री रामबहादुर थापा बादलसँगै एउटा फोटो पोष्ट गरेर सामाजिक सञ्जालमा लेखे ‘फ्लाइङ टु हेटौँडा ।’

अन्नपूर्ण पोष्टका मालिक रामेश्वर थापाको लगानी रहेको सिम्रिक एयर चार्टर गरेर पूर्वमहान्यायधिवक्ता अग्नि खरेलसहितको टोली हेटौंडा पुग्दा त्यहाँ संघीयताविज्ञ खिमलाल देवकोटाले राष्ट्रिय सभाको आसन्न उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराइसकेका थिए । देवकोटा गाडी चढेर उम्मेदवारी दर्ताका लागि त्यता पुगेका थिए ।

मुख्यमन्त्री डोरमणी पौडेल प्रस्तावक र मन्त्री सरस्वती बस्नेतलाई समर्थक राखेर बादलले उम्मेदवारी दर्ता गराएका छन् । यो बीचमा बादल र देवकोटाको काउण्टर दिन नेमकिपाले पनि राष्ट्रियसभामा उम्मेदवारी दर्ज गराएको छ । नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङले मनोनयन दर्ता गरेका छन् ।

जनता कोरोना संक्रमणको भयावह अवस्थामा अस्पतालको बेड र अक्सिजन नपाएर ज्यान गुमाइरहँदा गृहमन्त्री बादल कसको खर्चमा हेलिकोप्टर चार्टर गरेर हेटौंडा पुगे ? एमालेकै खर्च हो ? वा व्यक्तिगत ? अहिले सामाजिक सञ्जालमा यो प्रश्न पेचिलो ढंगले उठ्न थालेको छ ।

निर्वाचन आचारसंहिता ०७२ (संशोधनसहित) पल्टाउँदा दफा ५ (ख) मा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणसम्बन्धी बुँदा स्पष्टसँग लेखिएको छ ।

उपदफा १ (क) मा राष्ट्रियसभा सदस्यको निर्वाचनसम्बन्धमा लेखिएको छ ।

जसमा भनिएको छ ‘राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा भाग लिने प्रत्येक उम्मेदवारले निर्वाचन प्रसार प्रसारका लागि निर्वाचन अधिकृतको अनुमति लिई बढीमा चारवटा चारपांग्रे वा चारवटा मोटरसाइकल र यी साधन नचल्ने ठाउँमा बढीमा ४ वटा घोडा प्रयोग गर्न पाइन्छ ।’ तर बादलले घोडा होइन वायुपंखी घोडा नै प्रयोग गरिदिए ।

टिप्पणीहरू